NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बिना मगरको रुवाबासीपछि मुख्य सचिवमा अर्यालको ‘इन्ट्री’

काठमाडौं । सरकारले अवकास पाउन तीन दिन बाँकी रहेका सचिव बैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । निवर्तमान मुख्य सचिव शंकरदास वैरागीको समयावधि चार महिना बाँकी छँदै सरकारले अर्याललाई मुख्य सचिवमा अवसर दिएको हो ।

सरकारले अर्याललाई मुख्य सचिव बनाउन अतिरिक्त जोड गर्दै अवकाश समय बाँकी रहेका वैरागीलाई मुख्य सचिवबाटै राजीनामा गराएको छ। सट्टामा वैरागीलाई चाहिँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा व्यवस्थापन गरेको छ । जबकि, उनी सुरक्षा मामलाका विज्ञ नै होइनन् । त्यसो त, परराष्ट्र सेवाको भएर पनि उनी यसअघि मुख्य सचिव बन्न सफल भएका थिए ।

कसरी पल्टियो अर्यालको पासा ?

अर्थ मन्त्रालयमा लामो समय बिताएका अर्याल ०७५ मा सचिवमा पदोन्नति भएका थिए । सचिवका रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पोस्टिङ पाएका अर्याल त्यहाँबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए । वाणिज्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याइएका अर्यालले पछिल्लो पटक शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनपछि सञ्चार मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने मौका पाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठनपछि रेखा शर्मा सञ्चार मन्त्री बनिन् । तर माओवादी मन्त्रीले अर्याललाई रुचाइनन् । फलतः अवकाशको तीन महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनलाई जगेडामा राखियो ।

अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवापछि मन्त्रीसँग उनको केही विषयमा खटपट परेको बाहिर आएको थियो । यो विवादको अन्तर्य सतहमा नआए पनि मन्त्रीले नरुचाएकै कारण उनी अवकाशको मुखमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याइएका थिए । तर आश्चर्य, माओवादी मन्त्रीकै मन जित्न नसकेका अर्यालले मुख्य सचिवमा बाजी मारेका छन् ।

आखिर अर्यालले के त्यस्तो जादु गरे जसबाट प्रसन्न भई प्रधानमन्त्री प्रचण्ड उनलाई निजामती कर्मचारीको सर्वोच्च पद मुख्य सचिव दिन राजी भए ? स्रोतका अनुसार, नाटकीय रूपमा मुख्य सचिवमा बैकुण्ठले इन्ट्री मार्नुमा एउटा अनपेक्षित दौडधूपले काम गरेको छ ।

अर्याल मुख्य सचिव बनेसँगै सार्वजनिक प्रशासनमा काम गर्नेहरू चकित बनेका छन् । हुन पनि अन्य सबै कुरा यथावत् रहेको अवस्थामा अर्याल मुख्य सचिव बन्ने कुनै सम्भावना थिएन । असोजसम्म पदावधि रहेका स्वयं वैरागी आफ्नो पूरा कार्यकाल पूरा गरेर मात्र बिदा हुन चाहन्थे । सचिव अर्याल पनि अनिवार्य अवकाशको मनस्थितीमा पुगिसकेका थिए । तर पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्रबहादुर र प्रधानमन्त्री प्रचण्डको बुहारी बिना मगरको इन्ट्रीले उनको भाग्योदय हुन पुगेको दाबी स्रोतको छ ।

स्रोतका अनुसार, मुख्य सचिव हुने सपना त्यागिसकेका अर्याललाई यो अवसर दिलाउन ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्रबहादुरले सूत्राधारको काम गरेका थिए । यो काम फत्ते गर्न सुरुमा उनले बिना मगरलाई ‘कन्भिन्स’ गरे । प्रचण्डलाई मनाउने कामचाहिँ उनै बिनाले गरेको बताइन्छ । ‘मुख्य सचिव हुने लालसा अर्याल स्वयंले त्यागिसकेका थिए । ज्ञानेन्द्रका भाइ लोकेन्द्रबहादुरले बिना र बिनाले प्रधानमन्त्री प्रचण्डलाई राजी गराएपछि बिहीबार अर्यालको पक्षमा पासा पल्टिएको हो,’ प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले नेपालवाचलाई भन्यो ।

बिना मगरको आपत्ति– कसले दियो यस्तो सूचना

मुख्य सचिव नियुक्तिमा मुख्य भूमिका खेलेको आरोप लागेकी बिना मगरलाई हामीले यसबारे बुझ्न सम्पर्क गरेका थियौं । टेलिफोन सम्पर्कमा नेपालवाचसँग जोडिएकी उनले अर्याल मुख्य सचिवमा नियुक्त भएको विषयमा नै अनभिज्ञता प्रकट गरिन् । साथै उनले यसमा आफ्नो कुनै भूमिका नरहेको भन्दै आपत्ति प्रकट गरिन् ।

मगरले यस्तो जिकिर गरे पनि अर्याललाई मुख्य सचिव बनाउन उनले केही दिन अघिदेखि नै भित्रभित्रै सक्रिय बनेकी थिइन् । यसक्रममा उनले मुख्य सचिवका दाबेदारबारे विभिन्न व्यक्तिसँग सम्पर्क गरेर चासो राखेकी थिइन् ।

के भन्छन् अर्याल ?

मगरले जस्तै अर्यालले पनि यसमा कुनै चलखेल नभएको दाबी गरे । बिना मगरसँग विगतमा भेट भए पनि पछिल्लो पटक नभएको र ज्ञानेन्द्र कार्कीका भाइसँग हाइहेलोबाहेक केही सम्बन्ध नरहेको बताए ।

‘बिना मगरसँग मेरो कहिल्यै भेट नै भएको छैन । उहाँ पहिला मेरो छिमेकी हुनुहुन्थ्यो । उहाँ अहिले त्यहाँ बस्न छोडिसक्नुभयो । त्यसपछि उहाँलाई मेले एकचोटी प्रधानमन्त्रीज्यूकोमा जाँदा बालुवाटारमा एकछिन भेट भएको हो । मेरो अरु दोस्रो कुरा भएको थिएन । यो विषयमा पनि कुरा भएको थिएन,’ उनले भने, ‘लोकेन्द्रबहादुर कार्की ज्ञानेन्द्र बहादुर कार्कीको भाइ भन्नेसम्म थाहा छ । उहाँलाई पनि म सहसचिव हुँदा भेट भएको हो । यसो कहिलेकाहीँ हाई हेलोबाहेक कुनै पनि सम्बन्ध छैन । अवसर दिएदेखि गर्छु भन्ने कुरा थियो । यत्ति हो । मैले राजीनामा दिन लागेको विषय आधिकारिक रूपमा होइन ।’

प्रणालीमाथि एकपछि अर्को आक्रमण

सञ्चार सचिव हुँदा कार्कीसँग बनाएको सम्बन्धको फल अर्यालले अहिले पाए पनि सार्वजनिक प्रशासनमा भने फेरि पनि थिति बिग्रिएको छ । यसअघि लोकदर्शन रेग्मीले यस्तै रवैया देखाउँदा मुख्य सचिवको स्वाभाविक हकदार रहेका सचिव अवकाश हुनु परेको थियो ।

नेपालवाचसँग कुरा गर्दै एक पूर्व सचिवले मुख्य सचिव नियुक्तिका लागि अपनाइएको प्रक्रिया पारदर्शी नभएकाले निर्णयमा गलत मनशाय लुकेको बताए । ‘मुख्यसचिव जस्तो पदमा दाबेदारहरूबीच कार्यप्रस्तुति गर्न लगाएर प्रतिस्पर्धा गराउन सकिन्थ्यो । प्रतिस्पर्धाका आधारमा कुनै समितिले नेतृत्व छान्न सक्ने उपयुक्त विकल्प थियो ।’

त्यसो त, सार्वजनिक प्रशासनको नेतृत्व नियुक्तिमा प्रणाली तोडिएको ०५६ सालबाट हो । मुख्य सचिव नियुक्तिमा प्रणालीको हत्या गर्ने कामको सुरुवातचाहिँ तत्कालीत मुख्य सचिव बलराम सिंह मल्लबाट सुरु भएको जानकारहरू बताउँछन् । ०५३ मंसिर २७ गते मुख्य सचिवमा नियुक्त उनी ०५६ मंसिर २७ गते अवकाश हुँदै थिए । तर उनी आफूभन्दा अघि अवकाश हुने तीर्थमान शाक्यलाई मुख्य सचिव हुने बाटो खोलिदिन चाहन्थे । उनको यही व्यक्तिवादी सोचको परिणाम ०५६ साउन २९ गते मल्लले मुख्य सचिवबाट राजीनामा दिए । शाक्य नयाँ मुख्य सचिवमा नियुत्त भए । सट्टामा मल्ल राजदूत बने ।

त्यहाँबाट भत्किएको मुख्य सचिव नियुक्तिको प्रणालीले लय समाउन नसकेको पूर्वप्रशासकहरू सुनाउँछन् । सार्वजनिक प्रशासनमा आदर्श छवि बनाएका विमल कोइराला, माधव घिमिरे, लीलामणि पौड्यालले पनि वरीयता मिचेर मुख्य सचिवको पद हात पारेका थिए । त्यसपश्चात प्रणाली बिगार्नेमा लोकदर्शन रेग्मी सबैभन्दा धेरै बदनाम भए । त्यही पथलाई अवकाशको मुखैमा पुगेका बैकुण्ठ अर्यालले बलियोसँग अँगालेका छन् ।

त्यसो त, प्रशासन वृत्तमा अर्यालको छवि भने राम्रो छ । जसकारण प्रणाली बिग्रिए पनि नेतृत्वमा राम्रो व्यक्तिको नियुक्ति भएको अधिकांशको टिप्पणी छ ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली यसलाई खराब अभ्यासको निरन्तरताको संज्ञा दिन्छन् । यसले प्रशासन सुधारमा बाधा गर्ने भए पनि व्यक्तिगत रूपमा अर्याल अन्य सचिवहरूको तुलनामा असल व्यक्ति भएको मैनालीको बुझाइ छ ।