NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एसएसपी पालले आफ्नै प्रहरी सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको छानविन समितिको ठहर

तत्काल निलम्बन गर्न पत्राचार

काठमाडौं । आम जनताको सुरक्षामा खटिने प्रहरी नै यौन दुर्व्यवहारमा संलग्न भएको पुष्टि भएको छ । प्रहरीबाट आफ्नै कार्यालय सहकर्मीमाथि यौन दुर्व्यवहार भएको विषयले फेरि एकपटक आम जनताको सुरक्षा गर्ने प्रहरी संगठनमाथि नै प्रश्न उठाएको छ ।

कञ्चनपुरका वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) योगबहादुर पालमाथि लागेको यौन दुर्व्यवहारबारे अनुसन्धान गर्न गठित समितिले आरोप पुष्टि गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरिक्षक श्याम सिंह चौधरीको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले पालले पीडित महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेकोबारे अनुसन्धानबाट ठहर भएको जनाएको छ ।

गठित समितिले गरेको छानविनमा एसएसपी पालले पीडितलाई शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको पाइएको छ । पालले यौन दुर्व्यवहार गरेको ठहर गर्दै उनलाई प्रचलित कानुन बमोजिम उयुक्त कारबाही गर्न सिमितिले सिफारिस गरेको छ ।

दुर्व्यवहारको आरोप लागेपछि पनि पाल हालसम्म निलम्बनमा परेका छैनन् । उनलाई सोही पदमा काम गर्न दिइरहँदा प्रमाण नष्ट हुने सम्भावित जोखिम औंल्याउँदै समितिले तत्काल निलम्बन गर्न पनि सुझाएको छ ।

उनीमाथि थप अनुसन्धान गर्नुपर्ने बताउँदै समितिले तत्काल निलम्बन नगरे झुटा प्रमाण संकलन गर्न सक्ने र आफू विरुद्धको प्रमाण नष्ट गर्न सक्ने खतरा औंल्याएको हो । योसँगै उनलाई निलम्बन नगरे प्रहरी संगठनभित्रका कर्मचारीहरूमा नैरास्यता आउने, जनमानसमा नकारात्मक असर पर्ने कारण देखाउँदै तत्काल निलम्बनको गर्न सिफारिस गरिएको छ ।

समितिको सोही सुझावलाई कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको छ ।

पालविरूद्ध कार्यालयकै महिला सहकर्मीले गत १७ जेठमा आफूलाई नानाथरी प्रश्न सोधी हात समातेर दुर्व्यवहार गरेको भन्दै कारवाही माग गर्दै उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भएसँगै उनलाई प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा सरुवा गरिएको थियो ।

प्रहरी नियमावली अनुसार कुनै पनि प्रहरी कर्मचारीमाथि लागेको अभियोगको जाँचबुझ गर्नुपरेमा ६ महिनासम्मका लागि निलम्बन गर्न पाइने कानुनी व्यवस्था छ । सजायको आदेश दिन पाउने अधिकारीले जाँचबुझ समाप्त नहुने बेलासम्म अभियोग लागेका प्रहरीलाई निलम्बन गर्नेछन् ।

यसअघि पनि कारवाहीबाट उन्मुक्ति

कार्यालयका सहकर्मीसँग पालले गरेको दुव्र्यवहारको घटना यो पहिलोपटक भने होइन । यसअघि पनि उनीविरूद्ध महिला सहकर्मीलाई दुव्र्यवहार गरेको उजुरी परेको थियो । तर त्यतिबेला कारबाही भोग्नबाट उनी उम्किए ।

महेन्द्रनगरस्थित प्रहरी कार्यालयमै कार्यरत रहँदा उनले बिदा मागेकी महिला सकायक हवल्दारलाई यौन दुव्र्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

बिदा स्वीकृत भइसकेपछि पनि आफूलाई भेट्न क्वार्टरमा पठाइदिन आदेश जारी गर्दै उनले ती महिला प्रहरीलाई ‘तिमी मलाई मन पर्यो । आज गुड फ्राइडे मनाऔं,’ भनेका थिए ।

पीडित महिलाले यसबारे प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सतहमा आएको थियो । त्यतिबेला उनको जिम्मेवारी खोसिएपनि कानुन अनुसार कारबाहीको दायरामा आएनन् । बरु यो घटना भएकै समयमा विभागीय कारवाहीमासमेत नगरी उनलाई एसएसपीमा बढुवा सिफारिस गरियो।