NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

समाजवादी मोर्चामा सामेल हुने नेकपा एसको निर्णय, बाबुराम र वामदेव अझै अलमलमा

काठमाडौं । एकीकृत समाजवादीले समाजवादी मोर्चामा सामेल हुने औपचारिक निर्णय गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माओवादीकेन्द्रसहित मिलेर बन्ने समाजवादी मोर्चामा सामेल हुने निर्णय भएको हो ।

बैठकले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षहरुमाथि समेत छलफल गरी औपचारिक निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनताका मागहरूलाई सम्बोधन गर्ने विषयमा नेतृत्व गर्ने उदेश्यले मोर्चा बनाउन लागिएको हो । अहिले नै पार्टी एकता गर्ने पक्षमा हामी छैनौं । अहिले समाजवादी यात्रा तय गरी भविष्यमा वाम एकता बन्न सक्ने सम्भावना जिवितै छ’, उनले भने ।

माओवादी, नेकपा एस, जसपा, विप्लव नेतृत्वको नेकपा, नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसहितको वृहत्त समाजवादी मोर्चा शुक्रबार घोषणा हुने नेताहरूले बताएका थिए । मोर्चामा सहभागी हुन बाबुराम भट्टराई र वामदेव गौतम अलमलमा देखिएपछि आज मोर्चा घोषणा हुने सम्भावना लगभग टरेर गएको छ ।

समाजवादी मोर्चामा नेसपा र वामदेव नेतृत्वको पार्टीलाईसमेत सामेल गराउने प्रयास जारी भएकाले घोषणा गर्न ढिलाइ भएको खतिवडाले बताए । मोर्चामा सामेल हुने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेसपा अध्यक्ष भट्टराईसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, मोर्चा गठन, समसामायीक राजनीति टिआरसी लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंसिरमा भएको निर्वाचनमा नेसपाले माओवादीकै चुनाव चिन्न प्रयोग गरेको भएपनि पछिल्लो समय प्रचण्ड र भट्टराईबीच दुरी बढेको आशंका गरिएको छ । उता एमालेमा जान तयार भएर बसेका वामदेवले पनि मोर्चामा सहभागी हुनेबारे कुनै निर्णय गरिसकेका छैनन् ।