NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लघु जलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

ताप्लेजुङ । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षाका कारण आएको बाढीपहिरोले लघु जलविद्युत् गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् ।

वाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको छ । बाढीले मैवाखोला गाउँपालिका–३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनाका केहीको विद्युत् गृहनै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमका अनुसार मैवाखोला गाउँपालिकामा ६० प्रतिशत घरपरिवारमा विद्युत् जडान भएको थियो ।

तर बाढीपहिरोले पाँच वटा लघु जलविद्युत् गृह नै बाढीले बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् । गाउँपालिकाको वडा नं ४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ । बत्तीस र ६४ किलोवाटको माङमाया १ र मङमाया २ माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष बनेमले बताए ।

त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको अध्यक्ष बनेमले बताए । अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन् । दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चारमा समेत समस्या भएको अध्यक्ष बनेमले बताए । उनले भने, ‘गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत् पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ । कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन भएको छ ।’

त्यस्तै सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा दुईवटा लघु जलविद्युत् बाढीले बगाएको छ । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत् गृह बाढीले पूरै बगाएको सिरिजङ्घा–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए ।

गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत् गृहमा समेत क्षति गरेकाले अहिले गाउँनै पूरै अन्धकार भएको छ । सिरिजङ्गा–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् ।

दुई विद्युत् गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युत् गृहनै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज  प्रहरी हवल्दार विनोद उरावले बताउनुभयो । विद्युत् गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ छ ।

विद्युत् गृह बाढीले बगाएपछि याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत न्द हुने अवस्थामा पुगेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए ।