NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

तीन वर्षको प्रेमपछि अन्तर्जातीय बिहे गरेका दलित युवाविरुद्ध अपहरण मुद्दा

गैरदलित युवतीसँग प्रेमविवाह गरेकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार राम अहिले अपहरण मुद्दामा कारागारमा छन् । उनले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, केटी पक्षले ‘पानी पनि नचल्ने’ केटा भन्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गर्‍यो । त्यसकै आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जब कि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ ।

बबिताको परिवारले असहमति जनाएपछि गत वर्ष लक्ष्मीपूजाको चार दिनअघि उनीहरूले स्थानीय मन्दिरमा विवाह गरेका थिए । त्यसलाई कानुनी मान्यता दिन गत २१ जेठमा कपिलवस्तु जिल्ला अदालतमा उनीहरूले ‘कोर्ट म्यारिज’ गरे । दुवैको उमेर २१–२१ वर्ष भएकाले अदालतले बिहेलाई कानुनी मान्यता दिँदै प्रमाणपत्र दियो । तीन वर्ष प्रेम–सम्बन्धमा रहेपछि उनीहरूले विवाह गरेका थिए । तर, ‘कोर्ट म्यारिज’ गरेको दुई दिनपछि २३ जेठमा सप्तरी जिल्ला अदालतले मनोजलाई कारागार चलान गर्न आदेश दियो ।

बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले मनोजकुमार राम, उनका बुबा जितु, दाजु रूपेशकुमार र सञ्जयकुमारमाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुुरमा सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्‍यो । न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले मनोज र उनका दाजु रूपेशकुमारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

मुद्दा दर्ता गर्नुअघि ललितले वडा कार्यालयबाट बबिताको किर्ते जन्मदर्ता बनाएका थिए । जसमा उनको जन्ममिति २४ वैशाख ०६७ उल्लेख छ । जब कि ‘कोर्ट म्यारिज’ गर्दा मनोज र बबिताले जिल्ला अदालत कपिलवस्तुमा पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्ममिति १६ असोज ०५८ छ । ललितले पछि बनाएको जन्मदर्ता प्रमाणपत्रमा दर्ता मिति २५ पुस ०७५ छ भने जारी मिति २५ पुस ०७२ छ, तर दर्ता नम्बर नै छैन । यसबाट पनि उनले जन्मदर्ता किर्ते गरेको देखिन्छ । जारी गर्ने अधिकारीमा अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ का वडासचिव कुशेश्वर यादवको हस्ताक्षर छ ।

ललितले छोरी बबिताको उमेर १३ वर्ष मात्र रहेको नक्कली जन्मदर्ता बनाएर मनोजविरुद्ध मुद्दा दर्ता गरेका हुन् । उनलाई अपहरण गरेर बलजफ्ती बिहे गरेको दाबी जाहेरीमा गरिएको छ । ललित गाउँका धनाढ्य जमिनदार हुन् । स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वलाई पनि उनले प्रभावमा पारेको स्थानीय बताउँछन् ।

सप्तरी प्रहरी प्रवक्ता नरेश सिंहले ललितले जाहेरी दर्ता गर्न आएपछि सुरुमा आफूहरूले दर्ता गर्न नमानेको बताए । पछि उच्च अदालत जनकपुरको राजविराज इजलासबाट परमादेश ल्याएपछि दर्ता गरेको उनको भनाइ छ । ‘बबिता इसरका बुबा ललित इसरले ६ महिनाअघि आफ्नी छोरीलाई मनोज रामले अपहरण गरेको जाहेरी लिएर आएका थिए, हामीले दर्ता गरेनौँ । तर, उच्च अदालत जनकपुर राजविराज इजलासबाट २० माघमा मुद्दा दायर गर्ने आदेश जारी भएपछि हामीले मुद्दा दायर गरेर आवश्यक कारबाही बढाएका हौँ,’ प्रवक्ता सिंहले भने । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले २४ चैतमा मनोज राम, जितु राम, रूपेशकुमार राम, सञ्जयकुमार राममाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुुरमा मुद्दा दायर गरेको उनले बताए ।

अधिकारकर्मी विद्यानन्द रामले उमेर पुगेपछि विवाह कोसँग गर्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको बताए । ‘मानव अधिकारको दृष्टिकोणबाट पनि आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्न पाउने प्रत्येक नागरिकको हक अधिकार हो,’ उनले भने, ‘तर, जातपातका नाममा किन्तु–परन्तु गरी कानुनी विवाह गरिसकेका मनोज राम र बबिता इसरलाई अलग गर्न खोज्ने दुष्प्रयासलाई राज्यले निस्तेज पार्नु जरुरी छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष