NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २५ गते

रास्वपाको एक वर्ष : राजनीतिमा छलाङ, नेतृत्व क्षमतामाथि प्रश्नैप्रश्न

काठमाडौं  । १ असार, २०७९ मा चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चार कर्म छाडेर राजनीतिमा आउने घोषणा गर्दा उनको भावी राजनीतिलाई लिएर विभिन्न अड्कालबाजी भएको थियो । रविले नयाँ दल खोल्नान् कि अन्य पार्टीमा प्रवेश गर्लान् भन्नेमा सबैको चासो देखिन्थ्यो ।

टेलिभिजनबाट राजनीति, आर्थिक, सामाजिक र प्रशासनिक बेथितिबारे निरन्तर प्रश्न गर्दै आएका उनी आफैले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा प्रवेश गर्न लागिएकाले उनीमाथि धेरैको चोसो हुनु स्वभाविकै थियो । राजनीतिमा पहिलो अनुभव लिन लागेका रविको राजनीति यात्रा कस्तो होला ? उनका सारथी कस्ता होलान् ? परम्परागत दलहरूको सिण्डिकेट कसरी तोड्लान् ? विचार, सिद्धान्त, नीति तथा कार्यक्रम र आगामी कार्यदिशा कस्तो होला ? जस्ता विषयमा प्रश्नहरू अनुत्तरित भएर बसेका थिए ।

अन्ततः सबैको चासो र चिन्तालाई छिचोल्दै असार ७ गते राष्ट्रिय सभागृहबाट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) घोषणा गरेका रविले बिहीबार (आज) पार्टी स्थापनाको पहिलो वर्ष धुमधामले मनाउन आग्रह गरेका छन् । ‘इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय  पनि हो । ‘होइन, छैन, सकिदैन’ मात्र होइन ‘हो, छ र सकिन्छ’ भन्दै अघि बड्नु पर्छ । आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो ।

अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्’, विगतको स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले पार्टी स्थापनाको अवसरमा साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाउँन शुभचिन्तक र समर्थकहरूलाई आग्रह गरेका छन् । बालाजुस्थित नयाँ कार्यालयमा प्रधानमन्त्रीसहित विभिन्न राजनीति दलका नेता तथा क्षेत्रका व्यत्तित्वहरूलाई बोलाएर भव्य चियापान गरेको छ ।

ठीक एक वर्षअघि, घचाखच भरिएको समर्थक, शुभचिन्तकहरूबीच पार्टीको चुनाव चिन्ह घण्टी र निलो पृष्ठभूमिमा सात तारा अंकित झण्डा सार्वजनिक गर्दै रविले राजनीतिमा देखिएका बेथितिको अन्त्य गर्न एम स्वीच बन्द गर्ने घोषणा गरेका थिए । राजनीतिक फोहोरमा प्रवेश गर्दा केही समय आफू पनि अन्य दलजस्तै फोहोरी देख्न सकिने भन्दै उनले ती सबै धुलो टकटकाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

सोही दिन उनले २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरे । रविले घोषणा गरेको केन्द्रीय कमिटीमा केहीबाहेक सबै नयाँ र अपरिचित अनुहार थिए । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ठूला शहरमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि हतारमा पार्टी गठन गरेकोमा उनकै दाई हरिशरणले असन्तुष्टी पोखेका थिए । हतारमा पार्टी खोलेर अदुरदर्शीता देखाएको आरोप परिवारभित्रै लागिएको बेला उनी अविचलित रूपमा अघि बढिरहे ।

टेलिभिजनमा लामो समय ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रहेका उनले सोही कार्यक्रमबाट लोकप्रियता हासिल गरेका थिए । उनको लोकप्रियताको ग्राफ यति बढेको थियो कि सहकर्मीको आत्महत्या दुरूत्साहन मुद्दामा चितवन प्रहरीको हिरासतमा रहेका उनलाई छुटाउनका लागि दबाब दिन देशभरीका मानिस जम्मा भएका थिए ।

आफ्नो पक्षमा उल्लिएकाे मानिसको भिड देखेर हौसिएका उनले चितवनको ऋण तिर्ने प्रतिवद्धता जनाएका थिए । पूर्वप्रतिवद्धता अनुसार मंसिरमा भएको निर्वाचनमा चितवन–२ रोजे र अत्याधिक मतसहित विजयी भए । रविका लागि फोहोरी राजनीति सफा गर्ने अवसर जनताले दिए । जनताको भावना बुझेर काम गर्ने दायित्व उनी र उनको पार्टी रास्वपाले पाएको छ । बाँकी ४ वर्ष ५ महिना रास्वपाले कस्तो कर्म गर्छ ? वाचापत्रमा भनिएका कुरा कति लागु गर्छ, त्यो पछि समीक्षाको विषय रहला । यद्यपि पार्टी स्थापनाको एक वर्षलाई समीक्षा गर्ने केही आधार भने पक्कै बनेको छ ।

पार्टी खोलेको ५ महिनामै २१ सिट, ११ लाख बढी मत

पार्टी खोलेको ५ महिना नपुग्दै प्रतिनिधिसभाको निर्वाचनमा होमिएको रास्वपाले वर्षौंदेखि राजनीति गर्दै आएका परम्परागत दलहरूको सिण्डिकेट तोड्दै लोकप्रिय मतका साथ २१ सिट जित्न सफल भयो । जबकि पार्टी संगठनले कुनै मूर्तरूप लिइसकेको थिएन । सानो संख्याको केन्द्रीय समितिको सिमित घेराभित्र अलमलिएको अवस्थामा ११ लाखभन्दा बढी मत पाएर सबैलाई आश्चर्यचित पार्यो ।

विभिन्न क्रान्ति, संघर्ष, जेलनेल भोगेर आएका भन्ने दलहरूका लागि आमजनताको ब्यालेटमार्फत शान्तिपूर्ण विद्रोह थियो । रविबाहेक रास्वपाको अन्य उम्मेदवारले जित्न नसक्ने व्याख्या र विश्लेषण भइरहेको अवस्थामा यति धेरै सिट आउँछ भन्नेमा रविलाई पनि विश्वास थिएन । रास्वपाको उपस्थिति योपटक १० वर्ष जनयुद्ध लडेर आएको माओवादीलाई निकै भारी पर्यो ।

समानुपातिकतर्फ माओवादीले ११ लाख ७५ हजार मत पाउँदा रास्वपाले ११ लाख ३० हजार मत पायो । चितवन–३ मा पराजित हुने डरले प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड गोरखा–२ मा बसाइँ सर्न बाध्य भए । पाँचदलीय गठबन्धन बनाएर चुनावमा भाग लिएका कांग्रेस–माओवादीका प्रभावशाली उम्मेदवार प्रभावित क्षेत्रमै पराजित भए । छोटो समयमा रास्वपाको यो निकै ठूलो राजनीति विजय हो ।

उपप्रधानमन्त्रीमा रविको छलाङ

नेपाली राजनीतिमा रविको उदय जसरी भयो, त्यसरी नै उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेर छलाङ मारे । दलीय समीकरण कारण र संसदीय अंकगणितका कारण छोटो समयै रविले त्यो सफलता पाएका हुन् । संसदमा दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेपछि परिवर्तित समीकरणमा रास्वपा निर्णाक शक्ति बन्यो । त्यसको फाइदा उठाउँदै रविले उपप्रधानमन्त्रीसहित गृहमन्त्री पद प्राप्त गरे । यस्तो अवसर जोकोहीलाई विरलै प्राप्त हुनेछ । तर रविको आफ्नै कमजोरीका कारण मन्त्री पद गुमाए । अन्ततः ४२ दिनमै रास्वपा सरकारबाट बाहिरिने अवस्था बन्यो ।

विचार नीति, सिद्धान्त र कार्यदिशामा अस्पष्टता

कुनैपनि जिवित पार्टीमा विचार, नीति, सिद्धान्त, कार्यदिशा र कार्यक्रम हुन्छ । त्यसै अनुसारको कार्यान्वयन गर्न संगठनात्मक स्वरूप हुन्छ । तर पार्टी स्थापनाको एक वर्ष पुग्दासमेत रास्वपाको नीति, सिद्धान्त, विचार र कुन मोडेलको संगठनात्मक स्वरूप हो भन्नेमा प्रष्ट छैन । यद्यपि शीर्ष नेताहरू कुनै पनि वाद वा सिद्धान्तले समग्र क्षेत्रलाई समेट्न नसक्ने तर्क गर्दै खुला रहेको बताउँदै आएका छन् ।

विधान, वाचापत्रमा पनि रास्वपाले पार्टीको मार्गदर्शक सिद्धान्तलाई किटानका साथ स्पष्ट पार्न सकेको छैन  । केन्द्रीय समिति सदस्य गणेश कार्कीले अहिले जटिल युगमा कुनै वाद वा सिद्धान्तको सिमित घेराभित्र बस्न आवश्यक नभएको जिकिर गरेका छन् ।

‘आरक्षण, समावेशी, समानुपातिकका मुद्दामा लविङ हेर्दा हामी ‘फार लेफ्टिस्ट’ देखिन्छ । संस्कृतिलाई राज्यको अमूर्त सम्पत्ति मान्नुहुन्छ, त्यसलाई राज्यले संरक्षण गर्नुपर्छ भन्दा राइट देखिन्छ । निजी क्षेत्र र बजारलाई नियन्त्रण गर्नुपर्छ, लजिस्टिकमा कर लाउने हो, त्यसमा राज्य पस्ने होइन भन्दा हामी पुँजीवादी देख्छौं । समग्रमा कुनै पनि सिद्धान्तले समाजका लक्ष्य पुरा गर्न सक्दैन । त्यसकारण क्षेत्रगत रूपमा कुनै एक वर्ग समुदायलाई प्रतिनिधित्व गर्ने पक्षमा रास्वपा छैन ’, उनले भने ।

नेतृत्वको कार्यक्षमतामाथि प्रश्न

राजनीतिमा आएको एक वर्षमा रास्वपालाई जनताले आवश्यकता भन्दा बढी पत्याएको देखियो । रास्वपाका नेतृत्व कुनै राजनीति पृष्ठभूमिबाट खारिएर आएका होइनन् । यसअघि न जनताले परिक्षण गरेका नेताहरू रहेका छन् । अघिकांश नयाँ र युवा अनुहार निर्वाचनबाट जितेर आएकाले नेतृत्व क्षमतामाथि धेरैले प्रश्न उठाएका छन् ।

सभापति रविले त नागरिकता प्रकरणमा सानो त्रुटिका करण सांसद, मन्त्री र पार्टी सभापतिसमेत गुमाए । अमेरिकाको नागरिकता त्यागेको निस्सा सम्बन्धित निकायलाई नबुझाउँदा सर्वोच्च अदालतले उनलाई सबै कार्यकारी पदबाटमुक्त गरेको थियो । रविकै गल्तीका कारण चितवन–२ मा उपनिर्वाचन भएको थियो । प्रचण्ड सररकारमा ३२ दिन उपप्रधान तथा गृहमन्त्री भएका रविको कार्यकाल विवादरहित बन्न सकेन ।

रविले छनोट गरेका मन्त्रीसमेत विवादमुक्त भएनन् । अझैपनि राहदानी दुरूपयोग गरेको आरोपमा उनीमाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । सत्ता स्वार्थका लागि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको, मन्त्रीका लागि दलका नेताहरूको घर दैलोमा पुगेर बाग्रेनिङ गरेको, समीकरण बदलिँदासमेत स्वार्थका लागि सरकारलाई दिएको समर्थन कायमै राखेको जस्ता विषयलाई लिएर नेतृत्वमाथि प्रश्नै प्रश्न उठेको छ ।

सत्ता राजनीतिमा बढि केन्द्रीत

आफूलाई परम्परागत दलको विकल्पमा उभ्याएको रास्वपाले निर्वाचित भएर आएपछि जनताको एजेण्डाभन्दा पनि सत्ता केन्द्रित राजनीतिमा अलमलिएको आरोप लागेको छ । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दै गर्दा रविले विरालो कालो वा सेतो जस्तो भएपनि हुन्छ तर मुसा माुर्न पर्यो भन्ने जवाफ दिएका थिए ।

तर ४२ दिन प्रचण्ड सरकारमा रहेका मन्त्रीहरूले केही नीतिगत निर्णयबाहेक हस्तक्षेतकारी काम गर्न नसकेको आरोप लागेको छ । भ्रष्टाचाररहित सुशासनलाई मूल एजेण्डा बनाएको रास्वपाले गृहमन्त्रालय आफ्नै मातहतमा हुँदासमेत भ्रष्टाचारका फाइल खोल्न सकेन् । अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेका फरार एमालेका सांसद लक्ष्मी महतो काइरी पक्राउ गर्न सकेनन् ।

संसदमा गृहमन्त्रीसँगै उपस्थित हुँदासमेत कोइरीलाई पक्राउ नगरिएको भन्दै कांग्रेसका सांसद रामहरि खतिवडाले रविको चर्को आलोचना गरेका थिए । चौतर्फी आलोचना भएपछि एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो आदेश प्रहरीले अवज्ञा गरेको भन्दै लाचारी देखाएका थिए । त्यस्तै आफैविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हुँदाहुँदै गृहमन्त्रालयको जिम्मेवारी लिएको, स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री नियुक्त गरेको छ । आफ्ना कमजोरी लुकाउन न्यायालयलाई समेत प्रभावित पार्न खोजेको, अदालतले अयोग्य प्रमाणित गरी मन्त्रीबाट पदमुक्त हुँदासमेत सोही मन्त्रालयका लागि दबाब बढाएको जस्ता आरोप लागेको छ ।

हल्ला बढी काम थोरै

रास्वपाका सभापतिसमेत रहेका रविलाई कामभन्दा पनि ‘स्टन्ट’ मा रमाउने, स–साना विषयसमेत मिडियामार्फत प्रचार गर्ने, कामभन्दा गफ बढी दिने विपक्षी नेताहरूले आरोप लगाएका छन् ।

तर विपक्षीको आरोप अस्वीकार गर्दै सदस्य कार्कीले संसदीय प्रणालीको कमजोरीका कारण रास्वपा र अन्य दलका नेतामा भिन्नता नदेखिएको जिकिर गरे । रास्वपा राज्यको कार्यकारी पदमा नभएकाले आफूहरू जनताको आवाज उठाएपनि त्यसलाई निष्कर्षमा पुर्याउने परिपाटी नहुँदा समस्या देखिएको उनले बताए ।

रास्वपा जुन विन्दूबाट जसरी उदय भएपनि एक वर्षको अवधिलाई हेरेर अहिल्यै नै सफलता र असफलताको ट्याग भिराउने अवस्था छैन । विगतका कमीकजोरीलाई समीक्षा गर्दै एकतावद्ध भएर आगामी निर्वाचनको तयारी गरेमा रास्वपाले परम्परागत दलहरूलाई ठूलो चुनौती देखिन्छ । जनमतको सम्मान गर्दै परम्परागत दलका लागि सच्चिनुपर्ने बाध्यता छ ।