शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा
काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्, समग्रमा भने नेपाल दोस्रो स्थानमा छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हाल विभिन्न देशमा ६५१ जना महिला शान्ति स्थापनार्थ खटिएका छन् । नेपाली सेनाबाट ६०१, नेपाल प्रहरीबाट १४ तथा सशस्त्र प्रहरीबाट ३६ जना शान्ति मिसनमा खटिएका छन् । दुई साताअघि मात्र नेपालले शान्ति मिसनमा सबैभन्दा धेरै महिला सहभागी गराउने उपलब्धि हासिल गरेको हो । राष्ट्रसंघले शान्ति मिसनमा महिलाको संख्या बढाउने नीतिका कारण पनि यसरी संख्या बढेको अधिकारीहरू बताउँछन् ।
यो उपलब्धि देशकै लागि पनि प्रतिष्ठाको विषय भएको र राष्ट्रसंघले समेत नेपालको प्रशंसा गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । गत साता काठमाडौंमा सम्पन्न ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा राष्ट्रसंघका उपमहासचिव अतुल खारेले नेपालको प्रशंसा गरेका हुन् । महिला शान्ति सैनिकलाई दुर्गम ठाउँमा पुगेर काम गर्न चुनौतीपूर्ण हुने भएकाले त्यसलाई थप सहज बनाउन राष्ट्रसंघले छलफल थालेको उनको भनाइ थियो ।
हाल राष्ट्रसंघले द्वन्द्वग्रस्त देशमा १२ वटा शान्ति मिसन सञ्चालन गरिरहेको छ । जहाँ एक सय २१ देशका ७५ हजार चार सुरक्षाकर्मी कार्यरत रहेको राष्ट्रसंघको शान्तिसेना विभागको तथ्यांक छ । त्यसमध्ये शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने देशमा नेपाल दोस्रो स्थानमा छ । एक सय २१ देशमध्ये महिलाको संख्यामा नेपाल पहिलो हुँदा एकातर्फ यसले देशको प्रतिष्ठा बढेको र अर्काेतर्फ राष्ट्रसंघले समेत नेपाललाई भावी दिनमा शान्ति मिसनमा थप प्राथमिकता दिने सैनिक अधिकारीहरू बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया