NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पहिरोमा परेर मृत्यु हुनेहरूको अब गाउँमै शव परीक्षण

ओखलढुंगा । पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोष्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गाउँकै स्वास्थ्य युनिटमा परीक्षण गरी दाहसंस्कार गरिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । भौगोलिक विकटताका कारण शव बोकेर जिल्ला अस्पताल रुम्जाटारसम्म लैजान समस्या हुने भएपछि रानीवन स्वास्थ्य केन्द्रबाट डाक्टर झिकाएर गाउँमै शव परीक्षण गरिएको हो ।

यस क्षेत्रमा मानवीय क्षति हुँदा परीक्षण गर्न एक दिन लगाएर जिल्ला अस्पताल रुम्जाटार वा रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने अवस्था छ । वर्षात्सँगै आएको पहिराले पुरेर एकै परिवारका ३६ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ, १८ महिनाकी कृतिका गुरुङ र १० वर्षका दिनेश गुरुङको मृत्यु भएको थियो ।

गुरुङ परिवारका सबै सदस्यको मृत्यु भएको र आफन्तसमेत नरहेपछि छिमेकीले दाहसंस्कार गरेका छन् । शुक्रबार पहिराले गाउँ नै बगाउँदा लाखौँको धनमाल, पशुधन, भौतिक सम्पत्तिमा क्षति भएको प्रहरीले जनाएको छ ।