NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सिआइबीको त्यो ‘सेक्रेट प्लान’

काठमाडौं । पटक–पटकको प्रयासपछि पनि ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित मुद्दा अघि नबढेपछि सिआइबी हैरान थियो । किनकि घटनामा ‘हाई प्रोफाइल’ अभियुक्त संलग्न थिए । सिआइबीले घटनालाई फरक ढंगले अनुसन्धान गर्न यसअघि पनि कोसिस नगरेको होइन । तर, सूचना चुहावटका कारण खुलेको फाइल पनि पटक–पटक बन्द भए । किनकि अभियुक्तको चलखेल चर्को थियो । त्यसो हुँदा अभियुक्त खुलेआम हिँडिरहेका थिए ।

सिआइबी घटनाको फाइल पुनः खोल्ने मनस्थितिमा पुग्यो । सूचना लिक हुन सक्ने संशयबीच सिआइबीले महिना दिनअघि पाँच उच्च अधिकृत सम्मिलित विशेष टिम गठन गर्‍यो । घटनामा जोडिएका हाई प्रोफाइल अभियुक्त छनोट गर्‍यो । जसमध्ये हिट लिस्टका १५ अभियुक्त सिआइबीको ‘रेड जोन’मा परे । त्यसमा पनि अग्रपंक्तिमा राखिएको थियो– भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको नाम ।

टिमले उनीहरू बस्ने ठाउँ, बोक्ने टेलिफोन नम्बर, चढ्ने गाडी, हिँड्ने सडक, काम गर्ने कार्यालय गोप्य रूपमा ‘लोकेट’ गर्‍यो । कथंकदाचित सूचना चुहावट भए उनीहरू भाग्न सक्ने र लुक्न सक्ने ठाउँको समेत सिआइबीले लोकेसन लियो । अभियुक्त हाई प्रोफाइल भएकाले उनीहरूले चलखेल गर्न सक्ने ठाउँ तथा पक्राउपछि आउन सक्ने दबाब र चुनौतीको पनि सिआइबीले विश्लेषण गर्‍यो ।

जब अप्रेसन ‘मुभ’ हुने अवस्थामा पुग्यो । त्यसपछि सिआइबीले छुट्टाछुट्टै १५ वटा अर्को उपटिम गठन गर्‍यो । प्रत्येकलाई फरक–फरक व्यक्तिको फोटोसहित लोकेसन, टेलिफोन नम्बर, गाडी नम्बर उपलब्ध गरायो । र, उनीहरूलाई पक्राउ गर्न ‘कन्साइन्मेन्ट’ दियो । सोही ‘कन्साइन्मेन्ट’ पूरा गर्न सिआइबीका १५ उपटिम चार दिनदेखि सक्रिय थिए । जसमध्ये सिआइबीको सात ‘टार्गेट’ सफल भयो । बाँकी आठ टार्गेट भने विविध कारणले पूरा हुन सकेन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।