NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

रसुवा । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो ।

सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उनले बताए ।

स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी हाइड्रोपावरको उपकरणले पहिरो हटाउन निरन्तरता दिने बताइएको छ ।

विगत लामो समयदेखि रसुवागढी हाइड्रोपावरले वर्षाको हिले एवं हिउँदको धुले पहिरोलगायतका सबैखाले अवरोध हटाउँदै आएका कारण रसुवागढी नाकाबाट आयात निर्यात हुने सामग्री ढुवानीमा सहजता भएको बताइएको छ ।

पासाङल्हामु मार्गअन्तर्गत रसुवा खण्डको सडक भने विगतको तुलनामा निकै सुधार भए पनि मूलखर्कमा अडिसकेको पहिरालाई पुनः खोतल्ने काम भएका कारण थोरै भागमा जोखिम बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । यस्तै धुञ्चेपारि खोपाङ पहराको बीच भागमा रहेको ठूलो अल्को ग्यावियन पर्खाल फेदमा फुट्दै गएका कारण थप क्षति न्यूनीकरणका लागि पहल थाल्नुपर्ने स्थानीयको माग छ ।

ताजा अपडेट

नेपालवाच विशेष