पूर्वराष्ट्रपति भण्डारीले पाउने सेवासुविधा के के छन् ?

काठमाडौं । देशको राष्ट्रपतिले पूर्वराष्ट्रप्रमुखको हैसियतमा राज्यबाट पाउने सुविधा कस्तो होला ? यो विषयमा चासो र रुचि हुनु स्वभाविक हो ।
यो समाचारमा मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वराष्ट्रपतिहरु रामवरण यादव र भर्खरै अवकाश भएकी विद्यादेवी भण्डारीको सेवा सुविधाका विवरणहरु समावेश छन् ।
उच्च पदमा बहालहरुले शक्तिको दुरुपयोग गर्छन, भ्रष्टाचार गर्छन भन्ने आम भाष्य बनिरहेका बेला उनीहरुको अवकाशपछिको सेवा सुविधाबारे पनि त्यस्तै अनुमानहरु हुन्छन् ।
तर तथ्यांकले विवरणहरु फरक देखाएको छ ।
मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार पूर्वराष्ट्रपतिले पाउने सुविधाहरु यस्तो रहेको छ ।
मासिक भत्ता
देशमा दुई जना पूर्व राष्ट्रपति छन् । डा. रामवरण यादव र विद्यादेवी भण्डारी । उनीहरु क्रमश पहिलो र दोस्रो कार्यकालका राष्ट्रपति हुन् । उनीहरु दुवै जनाले दुई कार्यकाल राष्ट्रपतिको नेतृत्व गरेका थिए ।
अहिले उनीहरुले पूर्व राष्ट्रिपतिको हैसियतमा राज्यबाट मासिक ५० हजार भत्ता पाउँछन् । यही रकमबाट उनीहरुले आफ्नो महिनाभरीको जिवनयापन गर्नुपर्ने हुन्छ ।
आवास सुविधा
काठमाडौ उपत्यकाभित्र आफ्नो वा एकाघर परिवारको नाममा घर नहुने पूर्व राष्ट्रपतिले मात्रै राज्यबाट आवास सुविधा पाउनेछन् । उपत्यकामा घर हुनेहरुले आवास सुविधा पाउने छैनन् ।
यदि घर छैन भने, मासिक दुई लाख रुपैयाँको घर भाडामा उपलब्ध गराउनेछ । राजधानीमा घर भएर पनि रामबरण यादवले राज्यबाट आवास सुविधा लिदै आएका छन् । आफ्नो छोराको घरमा नबसेर उनी आवासका लागि बार्षिक २४ लाख रुपैयाँको घरमा बस्दै आएका छन् ।
यस्तै उपत्यकामा घर भएकाका लागि सरकारले मासिक एक लाख रुपैयाँ घर मर्मतका लागि राज्यले उपलब्ध गराउँछ ।
राष्ट्रपतिको दोस्रो कार्यकालबाट अवकाश पाएकी विद्यादेवी भण्डारीको राजधानीमा आफ्नै घर छ । उनले अहिले मासिक एक लाखका दरले घर मर्मत शीर्षकमा राज्यबाट सेवासुविधा लिदै आएका छन् ।
एक थान सवारी साधन
सरकारले अवकाश भएका राष्ट्रपतिलाई एक थान गाडी र इन्धन उपलब्ध गराउँछ ।
यदि अवकास भएका राष्ट्रपतिको आफ्नै सवारी साधन छ भने मासिक २५ हजार रुपैयाँ गाडी मर्मत शीर्षकमा भुक्तिनी दिन्छ । यस्तो मर्मत शीर्षकको पैसा लिन मर्मतको बिल पेश गरिरहनु पर्दैन । उनीहरुले पाउने इन्धन संघीय सरकारका मन्त्रीले पाउने सरह हुनेछ ।
यसबाहेक पूर्व राष्ट्रप्रमुखको हैसियतमा पूर्व राष्ट्रपतिले कुनै थप सेवा सुविधा राज्यबाट प्राप्त गर्ने कानूनी आधार छैन । तर आम नागरिकका रुपमा पाउने सबै सेवा सुविधा प्राप्त गर्न भने पूर्व राष्ट्रपति स्वतन्त्र हुनेछ ।
पूर्व राष्ट्रपतिलाई राज्यले उपलब्ध गराउने यस्ता सुविधाहरु राष्ट्रपतिको कार्यालयले उपलब्ध गराउनेछ ।
प्रतिक्रिया