NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

जनमतलाई सरकारमा ल्याउने र केही मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । बजेटमा गठबन्धनकै दलहरू असन्तुष्ट भएपछि दबाबमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरमार्फत असन्तुष्टि सम्बोधनको प्रयास थालेका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले हालसम्म ११ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले बजेटमा असन्तुष्ट दललाई सरकारमा फर्काउन मन्त्रिपरिषद् हेरफेरको १२औँ कसरत थालेका हुन् । यही वेला अन्य मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुन सक्ने स्रोत बताउँछ । समर्थन गर्ने दलहरू विभिन्न समयमा बाहिरिँदा सरकारको बहुमतको अंकगणित जोखिममा पर्ने डर हुन्छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमै बोलाएर जनमतका अध्यक्ष सिके राउतसँग भेट गरी सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

जनमत पार्टीका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहेका वेला प्रधानमन्त्री र राउतबीच भेट भएको हो । सहमतिअनुसार उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा फर्काउन प्रधानमन्त्रीले पहल थालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आइतबार प्रधानमन्त्रीले राखेको प्रस्तावमा राउत सकारात्मक छन् । ‘प्रधानमन्त्रीले सरकारमा आउन गरेको आग्रहमा राउत सकारात्मक हुनुहुन्छ । मन्त्रालयका विषयमा उहाँको चासो थियो । जवाफमा प्रधानमन्त्रीले गठबन्धनमा रहेका दलहरूबीच छलफल गरेर निर्णय लिन सकिने बताउनुभएको छ,’ आचार्यले भने ।

राउतसँगको भेटघाटपछि जनमतलाई सरकारमा फर्काउने विषयमा प्रधानमन्त्रीले सत्तागठबन्धनका दलहरूसँग परामर्श थालेका छन् । आइतबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीले यस विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार आचार्यले बताए ।

‘सत्तागठबन्धनभित्रका दलहरूसँग परामर्श सुरु भएको छ,’ उनले भने, ‘साँझ मात्रै माधव नेपालसँग भेटघाट भएको थियो । जनमतलाई सरकारमा ल्याउने विषयमा उहाँ सकारात्मक हुनुहुन्छ । अन्य दलका नेतासँग पनि आजभोलि नै छलफल गर्ने तयारी छ ।’

आफूसँग भएको मन्त्रालय दिएर भए पनि माग पूरा गर्न तयार रहेको सन्देश प्रधानमन्त्रीले दिएको जनमतका नेताहरूको दाबी छ । जनमतका उपाध्यक्ष अब्दुल खानका अनुसार भेटमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग तीन सर्त राखेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राउतले केन्द्रमा एक शक्तिशाली मन्त्रालय, बजेटमा संशोधन र प्रदेशमा विनाविभागीय बनाइएका आफ्ना दुई मन्त्रीलाई जिम्मेवारीमा फर्काए आफू सरकारमा आउन सकिने सर्त राखेका छन् । जवाफमा प्रधानमन्त्री सकारात्मक सुनिएको जनमतका उपाध्यक्ष खानले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष