NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रुसी आक्रमणमा परी युक्रेनी लेखिकाको निधन

काठमाडौं । रुसी आक्रमणमा परी घाइते युक्रेनकी लेखिका भिक्टोरिया अमेलिनाको निधन भएको छ । योसँगै उनी रुसी आक्रमणमा मारिने १३औं युद्ध अपराध अनुसन्धानकर्ता बनेकी छन् ।

युक्रेनको पूर्वी सहर क्रामाटोर्स्कमा रहेको पिज्जा रेस्टुरेन्टमा रुसी मिसाइल प्रहारबाट घाइते उनलाई अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको बिबिसीले जनाएको छ ।

द राइटर्स एसोसिएसन पेन युक्रेनले गहिरो चोटका कारण चिकित्सकहरूको अथक प्रयासका बावजुद उनलाई बचाउन नसकिएको उल्लेख गरेको छ ।

मानवअधिकारकर्मीहरूले यो आक्रमणलाई युद्ध अपराध भनेका छन्।

क्रामतोर्स्क युक्रेनको नियन्त्रित क्षेत्र भए पनि रुसले कब्जा गरेको युक्रेनको अर्को क्षेत्रनजिक छ ।

मिसाइल प्रहार हुँदा ३७ वर्षीया अमेलिना सहरको लोकप्रिय रिया लाउन्जमा कोलम्बियाली पत्रकार र लेखकहरूको प्रतिनिधिमण्डलसँग खाना खाइरहेकी थिइन् । आक्रमणमा अन्य ६० जना घाइते भएका छन् ।

अमेलिना युक्रेनका चर्चित युवा लेखकमध्ये एक थिइन् । उनका विभिन्न विभिन्न कृतिहरू प्रकाशित छन् ।