NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने, पेन्सन रोक्का गरिदिन पत्राचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले २०७७ फागुनदेखिको पेन्सन सुविधा नलिने निर्णय गरेका छन् ।

नेपाल सरकारका पूर्व सचिव राई २०७७ माघ २१ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । उनले प्रमुख आयुक्तको रुपमा आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म पूर्व कर्मचारीको रुपमा खाइपाई आएको पेन्सन सुविधा नलिने निर्णय गरेका हुन् ।

प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधामात्र लिने स्वघोषणा गर्दै राईले पेन्सन सुविधा रोक्का राखिदिन निवृतीभरणको कार्यालयलाई पत्राचार गरेका हुन् । सार्वजनिक प्रशासनमा स्वच्छ छवि बनाएका प्रमुख आयुक्त राईले सुशासनका लागि सुधार आफैँबाट सुरुवात गर्नुपर्ने आफ्नो मान्यता अनुसार निर्णय गरेको बताए ।

उनले राज्यकोषबाट दोहोरो सुविधा नलिने आफ्नो मान्यताअनुसार निवृतीभरणको कार्यालयलाई आग्रह पठाएको जानकारी दिए । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्त तथा आयुक्तहरुले आयोगबाट प्राप्त हुने सेवा सुविधाका साथै पुर्व कर्मचारीको हैसियतमा प्राप्त हुने पेन्सन सुविधा पनि लिदै आएका थिए ।

यसअघि संबैधानिक निकायमा नियुत्त भएपश्चात प्रमुख निर्वाचन आयुत्त दिनेश थपलियाले पनि दोहोरो सुविधा नलिने निर्णय गरेका थिए ।

उनले प्रमुख निर्वाचन आयुक्तको रुपमा सेवा र सुविधा प्राप्त गर्दासम्म पुर्व कर्मचारीको रुपमा प्राप्त हुने पेन्सन सुविधा रोक्का राखिदिन आग्रह गरेका थिए ।