बैतडीमा ३.६ माथि जिपिए ल्याउने शून्य

बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।
हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै तीन दशमलव छभन्दा माथि जिपिए आएको जनाएको छ ।
यसमा बैतडीमा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । उनले भने, “बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि तीन दशमव छभन्दा माथि जिपिए आएको छैन । गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन ।”
सुदूरपश्चिमका नौ जिल्लामामध्ये तीन दशमव छभन्दा माथि जिपिए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तर रूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।
स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उनले भने, “स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।”
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया