NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पहिलो पटक ‘जुठे’का दर्शक निराश

काठमाडौं । जात र वर्गका आधारमा समाजमा गरिने विभेदलाई मूल कथावस्तु बनाएर प्रसारण हुँदै आएको ‘जुठे’ अहिलेको चर्चित टेलिश्रृंखलामध्ये एक हो । यसले हरेक एपिसोड औषतमा दुई मिलियन बढी भ्युज पाउँदै आएको छ ।

सुरुमा बिहीबार प्रसारण हुने जुठे पछिल्लो समय बुधबार प्रसारण हुँदै आएको छ । ११९औं भागसम्म नियमित प्रसारण हुँदै आएको जुठेको १२०औं भाग हिजो राति ९ बजे प्रसारण हुनुपर्ने थियो । यो भाग दर्शकका लागि अन्यभन्दा बहुप्रतीक्षित पनि थियो किनभने, पहिलो पटक गाउँका शेर जिम्मललाई समाजमा न्याय र समानताको आवाज उठाउने मुरलीधरले षड्यन्त्रपूर्वक डिलको पछाडिबाट आक्रमण गरेर नदीमा पुर्याइदिएका थिए । जिम्मलको अवस्था अज्ञात रहेको र उनका दर्बिला सहयोगी श्रीधरले समेत साथ छाडेको अवस्थामा कथाले कुन मोड लेला भन्नेमा चासो राखेका जुठेका नियमित दर्शकले बहुप्रतीक्षित नयाँ भाग नै हेर्न पाएनन् । जुठेको प्रतिक्षामा टेलिभिजन सेट अगाडि प्रतीक्षारत दर्शक निराश रहे । नयाँ एपिसोड प्रसारण नहुने जानकारीका हकदार स्वाभाविक रूपमा दर्शक हुन्थे तर निर्माण पक्षले दर्शकलाई प्रसारण नहुने औपचारिक जानकारी दिनसमेत आवश्यक ठानेन ।

अनलाइन सट्टेबाजी गराउने अनलाइन वान एक्स बेट प्रचारको आरोपमा राजु पौडेल र मरिचमान श्रेष्ठ पक्राउ परेपछि जुठेको बुधबारको एपिसोड प्रसारण हुन नसकेको हो । गोथेको भूमिकामा देखिने राजु पौडेल र जुठेको भूमिका निर्वाह गर्ने श्रेष्ठ यसका लेखक तथा निर्देशक हुन् ।

जुठेका हस्ती पौडेल र श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएपछि दुई भागलाई छोट्याएर तीन एपिसोड प्रसारण गरिएको थियो । तर छायांकन गरिएको सामग्रीको स्टक सकिएपछि बुधबार पहिलो पटक जुठेका दर्शकले नयाँ भाग हेर्न पाएनन् ।

पक्राउ परेका जुठेका मुख्य कलाकारद्वय पौडेल र श्रेष्ठ रिहा भएकाले आगामी भागबाट भने नियमित प्रसारण हुने निर्माण पक्षले जनाएको छ । पौडेल र श्रेष्ठलाई १० हजार जरिवाना र एक वर्ष कैद माग गर्दै मुद्दा दायर गरिएकोमा बुधबार जिल्ला अदालत काठमाडौंले ५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष