NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मिटरब्याज पीडितले फिर्ता पाए साहुले लिएको आठ बिघा जग्गा

काठमाडौं । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।

गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ ।

आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितहरूले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये एक हजार पाँच सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिए ।

यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका सदस्य सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दाहरू छन् ।

यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितहरूले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।

नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धमा जाँचबुझ गर्न गत चैत २० को निर्णयानुसार जाँचबुझ आयोग गठन गरेको थियो ।

यही असार २५ गतेदेखि आयोगको म्याद सकिएपछि सरकारले पुनः तीन महिनाका लागि म्याद थप गरेको छ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्यसञ्चलन गरिरहेको छ ।