NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

काउन्सिललाई विज्ञ समूहले बुझायो सुझाव प्रतिवेदन

काठमाडौँ ।पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र बिष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको प्रष्ट पारे । उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए ।

यस्तै विज्ञ तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितको कार्य थाल्ने विश्वास व्यक्त गरे । यस्तै विज्ञ बबिता बस्नेतले चुनौतिका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषयमा प्रतिवेदनमा समेटिएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चार माध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आवश्यकता महशुस गरेरै विज्ञ समूहलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुनअनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा लैजाने उनको भनाइ थियो । काउन्सिलको सभाहलमा भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए ।

काउन्सिलले यही असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा। महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिन जिम्मेवारी दिएको थियो । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् भने बस्नेत सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् ।