NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पैसाको आडमा निषेधित क्षेत्रमा नक्कली पास बाँड्दै विमानस्थलका कर्मचारी

काठमाडौं । अति संवेदनशील क्षेत्र मानिने विमानस्थलको निषेधित क्षेत्रमा अनाधिकृत व्यक्तिले प्रवेश पाउने गरेको सूचना सरकारलाई पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली कर्मचारीको नाममा पाएको पासको आडमा अनाधिकृत व्यक्तिहरूले उक्त क्षेत्र प्रवेश गर्ने गरेको सूचना सरकारलाई पुगेको हो ।

विमानस्थलमाथि निगरानी गर्न राज्यले विशेष संयन्त्र खडा गरेको छ । संयन्त्रले अध्यागमन, नेपाल प्रहरी, भन्सारलगायत विमानस्थलमै कार्यरत विभिन्न व्यक्तिमार्फत यस्तो सूचना संकलन गरिरहेको छ ।

सरकालाई उक्त संयन्त्रले उपलब्ध गराएको सूचनाका अनुसार विमानस्थलमा नागरिक उड्डयन कार्यालय अन्तर्गतको पास शाखाका कर्मचारीहरूले यसरी पास वितरण गर्ने गरेका हुन् ।

पैसाको आडमा उनीहरूले त्यस्ता व्यक्तिहरूलाई सहजै पास उपलब्ध गराइरहेका छन् । उक्त रिपोर्टका अनुसार उनीहरूले आर्थिक प्रलोभनमा विभिन्न एयरलाइन्स र हेलिकोप्टर कम्पनीको नाममा नक्कली कर्मचारी बनाएर म्यानपावर र ट्राभल एजेन्टहरूलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश पास उपलब्ध गराउने गरेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला भने यसअघि पनि यस्तै गुनासा आएकै कारण अहिले पास वितरणमा कडाइ गरिएको दाबी गर्छन् ।

उनको भनाईमा विगत ५ महिनादेखि कर्मचारीका नाममा कसैले पास माग गरेमा उसको खातामा पारिश्रामिक गएको विवरण र सामाजिक सुरक्षा कोषलाई पनि जाँच गर्ने व्यवस्था गरिएको छ । तर पछिल्लो समय पनि यही प्रवृत्ति दोहोरिएकोबारे भने उनले आफू बेखबर रहेको बताए।

‘फेरि पनि यस्तै भएको हो भने नयाँ नियुक्त भएका कर्मचारीको नाममा पास वितरण भएको हुन सक्छ । किनभने कोही नियुुक्त भएको एक महिना भएको छ भने उसको खातामा तलब गएको विवरण हुँदैन,’ उनले भने, ‘अब यो कोणबाट पनि अनुगमन गर्नुपर्ने देखियो ।’

विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश पाउन अस्थायी र स्थायी पासको व्यवस्था गरिएको छ । सोही क्षेत्रमा काम गरिरहेका विमानस्थलका कर्मचारीसँग स्थायी पास हुन्छ । उनीहरूलाई पनि विमानस्थलको क्षेत्र तोकेर पास दिइएको हुन्छ । त्यस्तै मर्मत संहार गर्ने व्यक्तिहरू, प्राविधिक, ठेकेदार र कहिलेकाहीं काम विशेषले पुग्नुपर्नेहरूका लागि अस्थायी पासको व्यवस्था हुन्छ । यसवाहेक म्यानपावर र ट्राभल एजेन्टहरूलाई उक्त क्षेत्रमा जानुपर्ने कुनै कारण नहुने प्रवक्ता सिटौलाले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष