बाँकेमा थपिँदै ठूला उद्योग
राँझा । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् ।
बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।
कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७ लखनावरमा रु दुई अर्ब ५० करोड बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ ।
यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमङ्गलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीका शोरुम पनि यहीँ छन् ।
पश्चिम नेपालभर आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ । यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो । चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ ।
“पशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन, हामीले बाँकेबाट देशभर नै उत्पादन विस्तार गरिरहेका छौँ”, अध्यक्ष थापाले भने, “हाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।” अत्याधुनिक पूर्ण स्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी कमजोरी नहुने उनको दाबी छ ।
डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ । डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा चार सयदेखि पाँच सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफुहरुले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले उल्लेख गरे।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै करिब तीन दर्जन मात्र उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन् ।
बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा बिक्री वितरण गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया