नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख दिनेमाथि कारबाही, १० जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । ‘सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।
नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए। यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ ।
‘यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उनले भने ।
सङ्घले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया