NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

माओवादी जिल्ला अध्यक्ष धादिङका भण्डारीमाथि भ्रष्टाचारको आरोप

काठमाडौं । माओवादी नेतृत्वको सरकारले केन्द्रमा भ्रष्टाचारको फाइल खोलिरहँदा उसकै पार्टी भने आन्तरिक भ्रष्टाचारको चपेटामा परेको छ ।

माओवादी केन्द्रको धादिङ जिल्ला कमिटी संयोजक मनराज भण्डारी ‘शैलेस’ माथि यस्तो आरोप लागेको हो । उनले पार्टी कार्यालय निर्माणका लागि कार्यकर्ता, शुभचिन्तकबाट संकलन गरेको चन्दा, सहायताका विवरणहरुमा अनियमितता गरेको आरोप लागेको छ । भण्डारी पार्टी कार्यालय निर्माणका लागि गठन भएको उपभोत्ता समितिका अध्यक्ष थिए । पार्टी नेतृत्वले खर्च विवरण बुझाउन पटक पटक आग्रह गरेको तर भण्डारीले आनाकानी गरेपछि उपभोत्ता समिति परिवर्तन गरेको जिल्ला कमिटिका एक सदस्यले नेपालवाचसँग भने ।

जिल्ला कमिटीका अर्का एक सदस्यलेसमेत उनको आर्थिक पारदर्शीतामा प्रश्न उठेको बताए । नेपालवाचसँगको प्रश्नमा उनले भने, ‘प्रश्न उठेको हो । उहाँले विवरण दिनसक्नुभएको छैन । पार्टी कार्यकर्ता, शुभचिन्तकले दिएको सहायताको पारदर्शीता खोज्नु स्वभाविक हो ।’

पार्टी कार्यलय निर्माणका लागि संकलन भएको पैसाको हिसाब देखाउन जिल्ला नेतृत्वमा बारम्बार छलफल भएपनि भण्डारीले विवरण देखाउन सकेका छैनन् । त्यही कारण जिल्ला कमिटिले उपभोत्ता समितिको अध्यक्षबाट भण्डारीलाई हटाएर रुद्रबहादुर खत्री ‘रामशरण’ लाई अध्यक्ष बनाएको छ ।

खत्री नेतृत्वको समितिले पनि पहिलो चरणको हिसाब सार्वजनिक गरिसकेको छ ।

शैलेसको नामबाट चिनिने माओवादी नेता भण्डारीमाथि कम्तिका ५० लाख रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नगरपालिका, प्रदेशबाट अनुदान र कार्यकर्ताका सहायताबाट कार्यालय निर्माणका लागि तीन करोडभन्दा धेरै बजेट संकलन भएको थियो ।

भण्डारीले जिल्ला नेतृत्वमा बसेर आर्थिक अनियमिततामा संलग्न हुने, त्यस्तो अनियमिततामा संलग्नको समेत संरक्षण गर्ने र पार्टी संगठनलाई कमजोर पारेको भन्दै माओवादीका पुराना नेता तथा कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

संयोजक भण्डारी द्धन्द्धकालदेखि नै आन्दोलनमा सक्रिय भूमिका खेलेका जिल्ला नेता हुन् । विगतमा जिल्लामा स्वच्छ छवि बनाएका भण्डारी पछिल्लो समय प्रत्येक भ्रष्टाचार जन्य गतिविधिमा संलग्न हुन थालेको भन्दै जिल्ला कमिटिमा उनीमाथि छानविनको माग समेत भएको छ ।

जिल्ला पार्टी संयोजक भण्डारीले भने आफुमाथि भ्रष्टाचारको आरोप लागेकाबारे जानकारी नभएको बताए । ‘शुरुमा प्रश्न उठेको हो, उनले भने, मैले मोटो अंक निकालेर रुद्रबहादुरलाई हिसाब दिइसकेँ ।’

भण्डारीमाथि जिल्लाका विभिन्न पालिकाका तथा वडाध्यक्षहरुसँग समेत कमिशन लिने गरेको आरोप लागेको छ । भण्डारीमाथिको याे आरोपसँगै जिल्ला नेतृत्व भ्रष्टाचारमा मुछिएकोमा जिल्ला कमिटी विभाजित बनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष