आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेशनको आंशिक प्रभाव रहेकाले आज गण्डकी र बागमतीमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया