NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मौसम : पाँच प्रदेशमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पाँच प्रदेशमा आज वर्षा हुने प्रक्षेपण गरेको छ । तराई क्षेत्रमा भने हावाहुरीको योग छ ।

महाशाखाद्वारा जारी नियमित बुलेटिनअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज (शुक्रबार) मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा भने हावाहुरीको जोखिम छ ।

शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविदका अनुसार, नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तर तर्फ सर्ने अनुमान छ ।