NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उमेरमा ‘किर्ते र भ्रष्टाचार’, बुढ्यौली थुनामा

बालुवाटारस्थित ललितानिवासको जग्गा सुवर्णशमशेरका परिवारलाई फिर्ता दिने चलखेल सुरु हुँदा धर्मप्रसाद गौतम करिब ५० वर्षका थिए । सरकारले अधिग्रहण गरेको जग्गालाई उनले तत्कालीन मालपोत विभागमा कार्यरत छँदा जफतको गलत व्याख्या गरी एक सय १२ रोपनी फिर्ता गराउन भूमिका खेलेका थिए । ३० वर्षपछि सोही अभियोगमा गौतम प्रहरी हिरासतमा छन् । यतिवेला ८० वर्षको वृद्ध भएका छन् । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को थुनामा रहनेमध्ये उनी सबैभन्दा वृद्ध हुन् ।

गौतम मात्र होइन, यो मुद्दामा थुनामा रहेका २० जनामध्ये अधिकांश बुढ्यौली उमेरका छन् । पद, प्रतिष्ठा र पैसा सबै हुँदा पनि वृद्ध उमेरमा उनीहरू थुनामा छन् । र, सम्भवतः विगतको गल्तीको पश्चात्ताप गर्दै छन् । उमेरका कारण स्वास्थ्य अवस्था कमजोर भएकाले कतिपयलाई त अस्पताल नै भर्ना गरिएको छ । पुरानो मुद्दा भएकाले यसमा संलग्न कतिपय व्यक्तिको मृत्युसमेत भइसकेको छ ।

अहिले ७५ वर्ष पुगेका कलाधर देउजा पनि डिल्लीबजार मालपोतको प्रमुख हुँदा यसमा मुछिएका छन् । निर्णय गरेको करिब तीन दशकपछि सोही कारण अहिले हिरासतमा पुगेका छन् । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि भक्तपुर मालपोतमा अधिकृत रहेका वेला यस प्रकरणमा मुछिएका हुन् । हाल ६९ वर्र्षीय उनी प्रत्यक्ष संलग्न नभए पनि अप्रत्यक्ष रूपमा जग्गा व्यक्तिको नाममा लैजान सहयोग गरेर आर्थिक लाभ लिएको सिआइबीको दाबी छ । श्रीमतीको नाममा उनले त्यहाँको जग्गा बकसमा लिएर पछि बिक्री गरेका थिए ।

हिरासतमै रहेका नेपाल समरजंग कम्पनीका पूर्वप्रममुख लोकहरि घिमिरे ७५ वर्ष पुगेका छन् । उनलाई कम्पनीको जग्गा व्यक्तिलाई दिँदा भूमाफिया समूहसँग मिलेमतो गरेको अभियोग छ । त्यस्तै, पूर्वउपसचिव बालकृष्ण श्रेष्ठ भवन निर्माण सम्भार डिभिजन कार्यालयमा इन्जिनियरका रूपमा कार्यरत हुँदा बालुवाटरस्थित विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा भूमाफियालाई फाइदा हुने गरी भएको निर्णयमा सहभागी थिए । त्यही कारण ६८ वर्षको बुढेसकालमा हिरासतमा पुगेका छन् ।

यो प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ ६८ वर्षका छन् । उनीमाथि सरकारी जग्गा व्यक्तिको बनाउन बिचौलिया समूहमार्फत आर्थिक लगानी गरेको अभियोग छ । ७३ वर्षीय बाबुराजा महर्जनले पशुपति टिकिन्छा गुठीको नक्कली मोही बनेर जग्गा हिनामिनामा सहयोगी भूमिका निर्वाह गरेका थिए । ७१ वर्षीय पूर्वसहसचिव रुद्रबहादुर श्रेष्ठ र ६२ वर्षीय पूर्वनापी सर्वेक्षक ध्रुवबहादुर अर्याल पनि यही प्रकरणमा हिरासतमा छन् । अन्य आरोपी पनि धेरैजसो ६० वर्षभन्दा माथिकै भएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए ।

सिआइबीले गत १२ असारदेखि ललितानिवासको जग्गा हिनामिनाबारे आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । चार चरणमा गरेर एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसमा तीन सय ५० भन्दा धेरै संलग्न रहेकोमा २० जना मात्र थुनामा छन् । पूर्वसचिवसहितका कर्मचारी फरार भइरहेको स्रोत बताउँछ । हिरासतमा भएका अन्यमा समरजंग कम्पनीका पूर्वलेखापाल विनोद पौडेल, पूर्वनासु गोपाल कार्की, पूर्ववडासचिव शिवजी भट्टराई, मालपोतका पूर्वनासु योगराज पौडेल, पूर्वखरिदार नारायणराज मिश्र, पूर्वकर्मचारीद्वय घमानकुमार कार्की र अरुणकुमार श्रेष्ठ, जग्गा खरिदकर्ता केशव तुलाधर तथा नक्कली मोही देवनाराययण महर्जन, सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।