NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

समाजवादीका केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गरेको छ ।

सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेको निचोड निकाल्दै समाजवादीले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी उनलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ ।

बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो । त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिए ।

पार्टीले आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।