NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उत्तराखण्ड पहिरामा बेपत्ता नेपालीको खोजीका लागि भारतसँग परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं । भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी गरिदिन नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई शनिबार टेलिफोन गरेर पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गरेका हुन् ।

मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग आज बिहानैदेखि बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन् । उनले मौसम खुल्नासाथ आफूपनि प्रभावित क्षेत्रको भ्रमण गर्ने बताएका छन् ।

बिहीबार रातिबाट परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन् ।

त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन ।