NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पहिलो हिमालयन फुटसलको उपाधि क्रिजल एफसीलाई

काठमाडौं । पहिलो ‘हिमालयन फुटसल प्रतियोगिता’को उपाधि क्रिजल फुटबल क्लबले जितेको छ ।

काठमाडौंमा भएको फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४–१ ले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो ।

विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ । रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए ।
उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।

प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।

हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।