NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सर्वोच्चको आदेशपछि बाबुराम- प्रधानमन्त्रीका रूपमा मैले गरेका सबै कामको निष्पक्ष छानबिन होस्

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणको छानबिनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धतता जनाएका छन् । साथै उनले आफूले प्रधानमन्त्रीका रूपमा गरेका सबै कामको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले आइतबार ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने सम्बन्धमा नीतिगत निर्णय गर्ने सबैमाथि अनुसन्धान गर्न आदेश दिएको भोलिपल्ट भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । उक्त जग्गा व्यक्तिका नाममा लैजानेबारेको निर्णय प्रक्रियामा अन्य प्रधनमन्त्रीसँगै भट्टराई पनि संलग्न देखिएका छन् ।

‘ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि आफूले सघाएको स्पष्ट पार्दै भट्टराईले आफ्नो प्रमकालमा भएका सबै कामको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

‘मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ,’ भट्टराईले भनेका छन् ।

ललितानिवासलगायत सबै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयहरूउपर निष्पक्ष छानबिन गरेर कानूनविपरित राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले भए÷गरेका कार्यमा जतिसुकै उच्च तहका व्यक्ति संलग्न भए पनि कानूनअनसार कारबाही गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको पनि भट्टराईले प्रष्ट पारेका छन् ।