पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने २३ वटा निर्माण व्यवसायी कम्पनी र आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै ती कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको जनाएको हो ।
‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।
खरिद अनुगमन कार्यालयको आइतबारको निर्णय अनुसार काठमाडौंं बानेश्वरस्थित श्री पप्पु कन्स्ट्रक्सन/कोशी एण्ड न्यौपाने जे.भी.र कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.ली. लाई एक वर्ष ६ महिना कालोसूचीमा राखिएको हो । सुमित रौनियार, तुलबहादुर लामा र भावेश बोहोरा सञ्चालक रहेको यी कम्पनी सडक डिभिजन, हर्कपुर, ओखलढुंगाको सिफारिसमा कारबाहीमा परेका हुन् ।
त्यस्तै पूर्वाधार विकास कार्यालय, ललितपुरको सिफारिसमा भरतपुरस्थित नतासा निर्माण सेवालाई एक वर्ष कालोसूचीमा राखिएको छ । यस कम्पनीको सञ्चालक ईश्वर रिमाल रहेका छन् । सार्वजनिक अनुगमन कार्यालयले जारी गरेको सूचना अनुसार सडक डिभिजन दाङ, घोराहीको सिफारिसमा लक्ष्मण पाण्डेय सञ्चालक रहेको त्रिवेणी निर्माण सेवा, पोखरालाई पनि एक वर्ष कालोसूचीमा राखिएको छ ।
एक वर्ष कालोसूचीमा पर्ने अन्य कम्पनीमा श्री समृद्धि निर्माण सेवा, भरतपुर, श्री नव निर्माण विल्डर्स प्रा.ली., जनकपुर, श्री बी.क.बी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, कमलामार्य, सिन्धुली, श्री ब्युबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, भक्तपुर, श्री बुढाथोकी निर्माण सेवा, फिदिम, पाँचर र श्री नयाँ निर्माण सेवा, भरतपुर चितवन रहेका छन् ।
कालोसूचीमा परेका २३ कम्पनी मध्ये श्री शुभम कन्स्ट्रक्सन, भरतपुर, चितवन, श्री एकेज कन्स्ट्रक्सन, भरतपु, चितवन, श्री के.आ. निर्माण सेवा, लमगाउँ, बाजुरा, श्री अर्भान कन्स्ट्रक्शन प्रा.ली भरतपुर, चितवन, श्री नुरी कन्स्ट्रक्सन, गुलरिया नगरपालिका –०८, बर्दिया, श्री अन्जल निर्माण सेवा, भरतपुर -१०, चितवन, श्री युद्ध निर्माण सेवा, भरतपुर, चितवन र श्री जय भगवती निर्माण सेवा, खैरहनी -०६ चितवनलाई एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
त्यस्तै सडक डिभिजन भक्तपुर, कटुन्जेको सिफारिसमा नव निर्माण विल्डर्स प्रा.ली जनकपुरलाई एक वर्ष ६ महिना कालोसूचीमा राखिएको छ । यसको मुख्य सञ्चालक राजाबहादुर झा हुन् । एक वर्ष ६ महिना कालोसूचीमा पर्ने अर्को कम्पनी भनेको चेनता कन्स्ट्रक्सन प्रा.ली र यु.के.एन. कन्स्ट्रक्सन कम्पनी प्रा.ली रहेका छन् । सडक डिभिजन इलामको सिफारिसमा माबोहांग निर्माण सेवा, ताप्लेजुङलाई पनि एक वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
त्यस्तै लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स प्रा.ली, कागेश्वरी, एक्सन बिल्डर्स प्रा.ली., तनहुँ र अनुष्ठान कन्स्ट्रक्सन, बानेश्वर -१०, काठमाडौंलाई पनि एक वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका यी कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन् ।
प्रतिक्रिया