NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उत्तराखण्ड पहिरो अपडेट : ११ नेपाली अझै बेपत्ता, खोजीका लागि कुकुर परिचालन

काठमाडौं । चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र पारिएको छ । सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।

सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो ।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए । ‘एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ’, उनले भने–’खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिमप्राप्त कुुकुरसमेत परिचालन गरेको छ ।’

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्ररुपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ ।