NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले युवा पुस्ता धेरै निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा गरेको युवा पदयात्रा कार्यक्रममा मन्त्री लिम्बूले संविधानको माध्यमबाट थुप्रै कुरा सम्बोधन भइसकेको भन्दै अब धेरै निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहेको उनको भनाई छ । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए ।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन भएका छन् तर जनताको आधारभूत आवश्यकता पूर्ति हुन सकेनन् भन्ने जुन खालको गुनासो छ । त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ । युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन् । त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु ।’

युवा पदयात्राको समापन कार्यक्रममा सात ओटा राजनीति दलका सांसदहरुले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए । सरकारले उनीहरुका लागि आवश्यक नीति निर्माण गरी देशमै काम गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरु संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए । सोही समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सासंद निशा डाँगीले आफू पनि युवा भएकाले युवाको पक्षमा सदैव रहने र संसदमा युवाका आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन् । उनले आफू युवाका लागि र दिगो विकासका लागि सक्दो लागिपर्ने बताइन् ।

कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्वपूर्ण भूमिका भएकाले उनीहरुलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि म पूर्ण प्रतिबद्ध रही आफ्नो जिम्मेवारी बहन गर्नेछु भन्ने ब्यानरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, सात जना सांसद, नगारिक समाजका अगुवा तथा युवा अभियन्ताहरुले हस्ताक्षर गरेका थिए ।

No description available.

कार्यक्रम समापन गर्दै फोर एच एशिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सबै सांसदलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि नयाँ प्रभावकारी ऐन कानुन निर्माण गर्न संसदमा महत्वपूर्ण भूमिका खेल्न उनले आग्रह गरे ।

कौशल युवाः दिगो विश्वका लागि भन्ने नारासहित शुरु भएको युवा पदयात्रा माइतीघरबाट बबरमहलमा गएर समापन गरिएको थियो । साप्ताहिक रुपमा विश्वभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै आइरहेको छ ।