NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

संसदीय दलको बैठकमा महामन्त्री थापाले भने- महराबारे प्रहरीले भन्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले आइतबार माओवादी पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको भन्दै यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीबीआई)लाई नै अनुसन्धान गर्न दिनुपर्ने बताए ।

संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले यो कुरा पार्टीको बैठकले भन्ने नभई सीआईबीले छानबिन गरेर प्रष्ट पार्नुपर्ने बताए । उनले सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्ने उल्लेख गरे । थापाले भने, ‘राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन ।’

इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएको आरोप लागेका चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटक पटक टेलिफोन कुराकानी भएको पाइएको थियो ।

सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराको नाम उल्लेख भए पनि प्रहरीले उनीहरुमााथि अनुसन्धान गरेको छैन ।

महामन्त्री थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि पनि अनुसन्धान गरिनुपर्नेमा पनि जोड दिए ।

‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन,’ थापाले भने ।