धादिङमा विद्युत् बक्यौता उच्च, ४१ करोडभन्दा बढी महसुल उठाउन बाँकी
धादिङ । धादिङमा विद्युत् बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार रु ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो ।
त्यसमध्ये धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र रु २७ करोड ५९ लाख ६४ हजार पाँच सय ५६ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महसुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।
महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए । एक सय तीन जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले रु चार करोड २६ लाख ७४ हजार दुई सय ४० असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट रु ३७ लाख १२ हजार तीन सय एक असुल गर्न बाँकी रहेको छ ।
कालोसूचीमा राखेपछि सरकारी बाँकीसरह असुल गर्ने र तिनपुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियमसमेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।
धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।
प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाहीसमेत गरेको छ । उनीहरुबाट रु १४ लाख ८१ हजार ९६ जरिवाना असुल पनि गरेको छ तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यसभन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरेको थियो ।
गत आवमा रु ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया