जमिन भासिँदै गएपछि गोरखाका ३२ घर पहिरोको उच्च जोखिममा
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ ।
‘विसं २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ ।’ वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताए ।
‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’ पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ ।
केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया