NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेता भण्डारीको उपचारका लागि आफ्नै खर्चमा क्यानडाबाट आए चिकित्सक

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय नेता तथा सांसद डा. चन्द्र भण्डारीले राज्यको रकमप्रति उदारता देखाएपछि सहयोगीहरु झन् बढेका छन् । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका भण्डारीले आफ्नो आर्थिक अवस्था कमजोर भएपनि राज्यले दिन लागेको रकम अस्विकार गरेपछि उनलाई सहयोग गर्नेहरु झन् बढेका हुन् ।

सरकारले उनको उपचारका लागि लाग्ने सम्पुर्ण खर्च वेहोर्ने निर्णय गरेपनि मध्यम आर्थिक अवस्थाका नेता भण्डारीले उपचार खर्च नलिने घोषणा गरेका थिए । उनलाई विरामी भएपछि देश तथा विदेशमा रहेका हजारौँ सुवेच्छुकहरुले सहयोग गर्न रुची देखाएका थिए । त्यसैगरी उपचार गर्ने ठाउँमा पनि उनलाई उदारतापुर्वक नै सहुलियत दिने गरेका छन् । यति सम्मकी उनको त्याग र उदारताकै कारण क्यानडाका एक अमेरिकीमुलका चिकित्सकले उनलाई नेपालमै आएर निःशुल्क सेवा दिएका छन् ।

कीर्तिपुरस्थित बर्न सेन्टरका प्रमुख प्रा डा शङ्कर राईका साथी समेत रहेका क्यानडाका चिकित्सक डा। तिमोथी स्प्रौल आफ्नै खर्चमा नेपाल आएर डा। भण्डारीको उपचारमा सक्रिय भएका हुन् ।

उनी सहितको चिकित्सकहरुको टोलीले बुधबार डा भण्डारीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको उनका स्वकिय सचिव वोधराज कँडेलले जानकारी दिए । डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेता भण्डारीको उपचारका लागि नेपाल आएकोमा स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गरेको हो ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका सेवा दिँदा लाग्ने शुल्क समेत अस्पतालले नलिने घोषणा गरेको थियो । उनका लागि एक पछि अर्को सहयोग जुट्नुले राज्यले दिएको रकम नलिएर पनि नेताहरुले ठूला रोगको उपचार गराउन सक्छन भन्ने पुष्टि गरेको छ ।

गुल्मीको क्षेत्र नं. १ बाट निर्वाचित सांसद भण्डारीले लामो समयदेखि गुल्मीको माझी बस्ती र दर्जनौँ विद्यालयहरुमा विभिन्न सहयोग गर्दै आएका छन् भने सयौँ विद्यार्थीहरुलाई पठन पाठनको व्यवस्था मिलाइदिएका छन् ।