NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २० गते
संस्मरण

निलो सर्ट, निलो आकाश र निलो भित्ता 

आकाशे रङको कमिज लगाएर सपनाविहीन आँखाले निलो आकाशतिर हेर्दै थिएँ । आजीवन इस्त्री नलगाएको पाइन्टलाई युके  लेखेको रातो पेटीले अड्याएको थियो । तोरीको तेल लगाएर लरक्क लर्काएको कपाल दाहिने हत्केलाले मिलाएँ । रातो तुना भएको चाइनिज चप्पलमाथि उभिएको थिएँ म । विद्यार्थीहरूको पंक्तिको कुनै मध्य भागतिर उभिएको हुँदो हुँ । अञ्जुलीमा एक झुप्पा रातो गेट फूल थियो । आँखा घरी आकाशमा, घरी परको घुम्तीमा पालैपालो घुमिरहन्थे । पारि घुम्टेको लेक कुहिरोको अंगालोमा छेकिएको थियो। धौलागिरी हिमाल मधुरो घाममा मन्द मुस्कुराइरहेको थियो ।

परको घुम्तीबाट एउटा सेतो गाडी हामीतिर दगुर्दै आइरहेको थियो ।  एक जोर आँखाहरू त्यतै अडिए । गाडी नजिक आउँदै थियो, परेलाको आकार घट्दै गयो । सेतो नम्बर प्लेटको सेतै गाडीबाट सेतो सर्ट लगाएको मान्छे बाहिर आए । हामी सबैले अञ्जुलीभरिका रातो पुष्पगुच्छाहरू उहाँको अञ्जुलीमा राखिदियौं ।

‘काजी’ भन्दै काँधमा आउने साथीहरूका ती ‌औँलाहरू, सँगै बसेर गफ मार्ने ती क्याफेका भित्ताहरू, जिस्किँदै जिस्काउँदै खाना खाने ती थकाली भान्साघरहरू, कक्षा चल्दाचल्दै भित्रिने ती जेरी र लड्डुहरू, सपनाजस्तै रङ्गीन ती आरू र बखडाका फूलहरू, चौरमा बसेर खाजा खाँदा काँ काँ गर्दै आउने ती कागहरू, अब त विगत पो बनिसकेछन्
ती व्यक्ति प्रमुख जिल्ला अधिकारी रहेछन् जो विद्यालयको विशेष अनुगमनका लागि आएका रहेछन् भन्ने कुरा मलाई धेरैपछि थाहा भयो । सायद त्यतिखेरैबाट होला सेतो सर्टप्रतिको मोह मनमा गढेको ।

करिब एक दशक पहिलाको यो पल मैलै सम्झिरहेको थिएँ, जावालाखेलको मुटुमा रहेको स्टाफ कलेजको होस्टेलको छतबाट ।

आकाशमा जुनको उज्यालोमा ताराहरू नाच्दै थिए । मेरो मनमा पनि पूर्णिमा लागेको हुँदो हो त्यो बेला ।

एक साँझ ।  लोकसेवा आयोगबाट बहुप्रतीक्षित सन्देश आयो, सेक्सन अफिसरमा छनोट भएकोमा बधाई ।’

आमालाई फोन गरेँ, आमा, म अधिकृतमा पास भएँ नि ।   उताबाट जवाफ आएन । मैले बुझेँ, आमा खुशीले रुँदै हुनुहोला ।  सायद त्यतिबेला आमा अगेनोमा बसालेको कसौँडीमा छड्किरहेको भात पनिउले चलाउँदै हुनुहुन्थ्यो । बा चुलो छेउको गुन्द्रीमा बसेर आलु काट्दै पो हुनुहुन्थ्यो कि । चुलो छेउको झ्यालमा झुण्ड्याइएको रेडियोमा पक्कै कुनै कार्यक्रम बज्दै थियो । रेडियोको आवाज अलि सानो पारि आमातिर हेर्दै ‘बा’ ले  भन्नुभयो होला, ‘हेर त, तेरो छोरोले गरेच त ।  यो खुसीमा आज रातो भाले खाम क्याओ ।’

गाउँमा बालाई खुशी हुन ठूलो कुरा नै चाहिँदैन । मकै छर्ने समयमा पानी पर्यो भने बा औधी खुशी हुनुहुन्छ ।  गाईले अलि बढी दूध दिने दिन त बाको खुसीको ग्राफ अझै बढ्छ ।  आँगनमा बाख्राका पाठा उफ्रेको देख्दा  बाको मन पनि खुशीले त्यसरी नै उफ्रन्छ । शहरबाट छोरोले फोन मात्रै गर्दा पनि खुशी हुने मेरा बा त्यतिबेला कति खुशी  हुनुभयो होला ।

यसबारे सुरुमा लोक सेवा आयोगले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलाई सिफारिस पत्र पठायो । मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान अर्थात स्टाफ कलेज पठायो । अनि सुरु भयो स्टाफ कलेजको चारमहिने बसाइँ ।

सुरुमा घनिभूत चिनजान भएका मित्रहरू कम थिए । नायब सुब्बामा सँगै सिफारिस भएका महोत्तरीका पेशल वाग्ले  नजिकका मित्र थिए । स्टाफ कलेजमा पहिलो दिनको स्वागत कार्यक्रम थियो । ब्याट–३६ का लागि । म बीचतिर  बसेको थिएँ । मेसेज गरेँ, दाइ कता छौ ?

‘म लास्टाँ छु, पछाडि,’ उनले जवाफ फर्काए ।

कार्यक्रम सकिएपछि स्टाफ कलेजको गेटमा रहेको निलो भित्तामा फोटो खिँचे । सोचेँ, वर्षौँदेखि टाँसिएको फेसबुकको प्रोफाइल फोटोले आजबाट मुक्ति पाउने भयो । निलो भित्तामा फोटो खिचाउने सपना पूरा भयो ।

निलो सर्ट लगाएर निलो आकाश हेर्दै स्कुले जीवन कटाएको मलाई फेरि एक पटक निलो भित्ताले बाल्यकालमा पुर्याएको थियो ।

हामी गुल्मीबाट एकै पटक २७ जना सिफारिस भएका थियौँ । गुल्मेलीको वर्चश्व थियो । कहिलेकाहीँ म बडो फुर्ती लगाउँथेँ । समूहमा गुल्मी र स्याङ्जाको चर्चा भइरहन्थ्यो ।

हामीलाई ९ वटा समूहमा बाँडियो । म कोशी समूहमा परेँछु। सबैभन्दा ठूलो नदीको नाम, मख्ख परेँ ।

टिम कोशी गज्जब बन्यो । त्यहाँ एउटा नियम नै बस्यो, हरेक दिन पालैपालो कसै न कसैले केही न केही खुवाउने । यो प्रावधानका कारण कोशी हलमा कहिले लड्डु, कहिले चुकौनी, कहिले जेरी, कहिले जुजु धौ, कहिले लस्सी, यस्तै यस्तै अनेक भित्रिरह्यो ।

कक्षा रमाइलो बनाउन कोशी टिमलाई ‘कोशी राज्य’ बनायौँ । जहाँ राजा थिएँ, राजगुरु थिए, युवराज थिए, राष्ट्रपति थिए, प्रधानन्यायाधीश थिए, सभामुख थिए, अनेक थिए । खाली समयमा कक्षामा नै नाचगान हुन्थ्यो । सुर्खेतका विकास थापा मगर, पर्साकी मनिषाकुमारी, तनहुँकी विनिता रानाभाट, नवलपरासी पश्चिमका भरत घिमिरे, रामेछापका कुमार घिसिङलगायत नाचे । मलाईचाहिँ गित गाउन खुब उचाल्थे । म पनि उक्सिहाल्थेँ, अनि सुरु हुन्थ्यो, ‘छोरी माग्न जाँदा ससुरा बाले ए भन्छन् तिम्रो छ र के भर, खोजी आऊँ पहिले सरकारी जागिर …।’

स्टाफ कलेजको होस्टेलको रुम नम्बर १०१ मा बस्थेँ म । होस्टलमा मेरा छिमेकी थिए, डोटीका डिल्लीराज पनेरू । उनको मेरो मित्रता कोशी प्रदेशमा अधिकृतस्तर छैटौं पदमा अन्तर्वार्ता दिँदा सुरु भएको थियो । स्टाफ कलेजमा त्यसको घनत्त्व थप बढ्यो । होस्टेल बसाइँमा फुटबल, भलिबल, जिम,  चित्रकला, नृत्य आदि अप्सनमा थिए । मेरो रोजाइमा प्रायः नृत्य  पर्दथ्यो । कक्षा सकिएपछि नृत्य कक्षातिरको सिँढीमा मेरा पाइलाहरू लम्किन्थे ।

बिहानै उठ्नुपर्ने अनि सामेलीमा अनिवार्य उपस्थित हुनुपर्ने नियमले मजस्ता बिहान अबेर उठ्नेहरूलाई अलिक समस्या पारेको थियो । म प्रायः लाइनको अन्तिममा हुन्थेँ किनभने, म अन्तिमा आउँथेँ ।

७५—लास्ट, ७६—लास्ट, यस्तै यस्तै भनिरहनुपर्थ्यो मैले, अनि सुरु हुन्थ्यो पिटी, परेड र योगाको सेसन ।

साँझको खाना खाएपछि कमन हलमा दोहोरी जम्थ्यो, म गीत गाउन जान्दिनथेँ तर पनि गाउँथेँ । म नाच्न जान्दिनथेँ तर पनि नाच्थेँ । म टुक्का जान्दिनथेँ तर पनि दोहोरी गाउँथेँ ।

बिहान बिहान ‘ओ बस्नेत काजी, उठ’ भन्दै ढोका ढकढकाउने हरिभक्त आचार्यका ‌औँला प्रिय थिए, मखमली पछ्यौरीले सानु… गुञ्जाउने थानेश्वर अवस्थीको स्वर लोकप्रिय थियो । सुरीलो भाका गाउने नारायण गैरे र पदम थापाको स्वर सबैको रोजाइमा पर्यो ।

गजल र गीतमा पोख्त खेम पुनको मिठो आवाज सर्वप्रिय थियो । दोहोरीका टुक्का गाउने दुर्गा न्यौपाने र कल्पना सुवेदीको दोस्ती चर्चामा थियो । सुमन राउतको फुटवल खेल लोभलाग्दो थियो ।

एकदिन –याफ्टिङको लागि त्रिशूलीमा गएका थियौं । त्रिशूलीमाथि सलल बगिरहँदा सँगै भएका गुल्मीका पोष्टराज ज्ञवाली हाम फाले । मेरो मुटु सिरिङ्ग भयो । आँखा बडेमानका भए । एक्कासि बझाङका हरिप्रसाद सुवेदीले मलाई धकेलिदिए । अब म पनि त्रिशूलीमा उत्रिँदो भएँ । साथीहरू गीत गुञ्जाउँदै थिए, त्रिशूली बगेर गुल्मेली हामफालेछ… ।’

समयले बगाउँदै बगाउँदै एक साँझ देश दर्शन कार्यक्रमको लागि पोखरामा पुर्यायो। जाँदै थियौँ, गुल्मी र अर्घाखाँची । ठाउँ रोज्ने थिए, दार्चुलाका नरेन्द्रसिंह चैसिर । पहिलो दिनको ट्रान्जिट पोखरा । ‘सर, म तपाईंलाई फेवाताल घुमाउँचु, जाम,’ गुल्मीका केशव ज्ञवालीले काँधमा हात राख्दै भने । हाम्रो सानो टुकुडी फेवाको छेउमा पुग्यो ।  एडिसनका डल्ले बल्बबाट पोखिएर झरेका प्रकाशबाट फेवा हेर्दै गुल्मीका चेतनारायण कंडेलले भने, ‘सर, यो लोकसेवा नभएको भए हामीजस्ता कुना कन्दराबाट आएकाहरू यसरी फेवाको छेउमा सँगै उभिन पाउँथ्यौँ होला ?’

मैले एकोहोरो तालमा छाल हेरिरहेँ । सायद उनले मेरो कुरा बुझे होलान् । एक पटक लामो श्वास फेरे । मैले सुस्तरी घाँटी घुटुक्क पारेँ । फेवाको पानी एकछेउमा तप्लक्क गर्यो ।

चिसापानी हाइकिङ जाँदाको कुरो हो क्यारे । सुन्दरीजलको उकालोमा थकान मेट्न पानीको बोतल हातमा लिएर मुखमा पुर्याउँदै थिएँ, सल्यानका खुम केसीले भने, ‘गुल्मेली मित्र, राज्यले हामीमाथि यति धेरै भरोसा राखेको छ, देशको तिर्खा मेट्न केही थोपा भए पनि योगदान गर्न सकियो भने । देशका कुरा गर्दै, दुःखका कुरा गर्दै, जीवनका कुरा गर्दै उकालो काटियो ।

कुलेखानीमा इन्द्र सरोवर हेर्न गएका थियौँ, पानीमाथि डुङ्गामा थियौँ । भोजपुरकी प्रमिला दाहालले मतिर हेर्दै भन्नुभयो,  ‘भाइ, तिमीहरू र हाम्रो एज ग्याप धेरै भए पनि अहिले हामी सबै एकै उमेरको जस्तो भएका छौँ नि। म त वाल्यकाल पो सम्झिरेछु त यो सब भोगीरहँदा।’

मैले पानीको कलकल आवाजतिर आँखा सोझ्याएँ । म्यामले मेरो मौन उत्तर बुझ्नुभो क्यारे ।

जीवन र दर्शनको पाठसँगै सदाचारिताका कुरा सिकाउने गीताञ्जली उपाध्याय र गणेश शाहलाई नसम्झिरहन सकिएला र ?

फुर्सद हुँदा घुम्न जाउँ भन्दै उचाल्ने  दैलेखका गगन थापा,  कास्कीका सुमन सुवेदी, खोटाङका अशोक आचार्य, धनुषाका अनिल झासँगको एकमुष्ट भेट अब होला र ? अब फेरि बाल्यकाल र स्कुले जीवनमा फर्किएको अनुभूति गराउने त्यस्तो समय आउला र ?

जीवनका यस्ता थुप्रै पलहरू करिब चार महिना स्टाफ कलेज र डेढ महिना सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहँदा भए । मनमा जोगाएर राख्नुपर्ने धेरै कुराहरु छन् । छोडिएर आएका कुराहरू पनि कति–कति । सार्वजनिक प्रशासनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने सामर्थ्य राख्ने यो समूह सधैं मनमा रहिरहनेछ ।

हुन त धेरै कुरा लिएर आइयो तर धेरै कुरा कता हो कता छुटेर पनि त गए । ‘काजी’ भन्दै काँधमा आउने साथीहरूका ती ‌औँलाहरू, सँगै बसेर गफ मार्ने ती क्याफेका भित्ताहरू, जिस्किँदै जिस्काउँदै खाना खाने ती थकाली भान्साघरहरू, कक्षा चल्दाचल्दै भित्रिने ती जेरी र लड्डुहरू, सपनाजस्तै रङ्गीन ती आरू र बखडाका फूलहरू, चौरमा बसेर खाजा खाँदा काँ काँ गर्दै आउने ती कागहरू, अब त विगत पो बनिसकेछन् ।

कसले पो बिर्सन सक्छ र विजय भुसालका ती कविता, सुविज्ञ रेग्मीका ती गोल, छत्र माझीका ती भलिबल सट, रेशम महताराका ती मन छुने कुरा, दीपेन्द्र पुनको त्यो हाँसो, तेज प्रकाश भण्डारीका ती अनुभव, अञ्जु न्यौपानेका ती सुमधुर गीत, विमला गौतमको त्यो नृत्य, नवीनचन्द्र घिमिरेको त्यो मुस्कान । सबै–सबै अब सम्झनाको संग्रहालयमा सुरक्षित छन् ।

जसरी मानसरोवर क्षेत्रबाट बग्दै आएका ब्रह्मपुत्र, सतलज, इन्दुस र कर्णाली नदी बग्दै बग्दै समुद्रमा भेटिन्छन्, काँधमा राष्ट्रसेवाको जिम्मेवारी बोकेर देश निर्माणको यो महान् यात्रामा इँटा थप्न देशैभरि छरिएका हामी समयले फेरि कहीँकतै त्यसरी नै भेटाईदेला र ?