NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा नै रहेको बताएका छन् ।

आइतबार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै निर्णय नगरेको बताए । आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरेको बताए ।

‘लाल आयोगको प्रतिवदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ । म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा म सुरूदेखि नै छु’ उनले भने ।

२०७२ सालमा मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका आन्दोलनमा सरकारका तर्फबाट भएका बलप्रयोग र ज्यादतीका विषयमा अध्ययन गर्न गठित तत्कालिन न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन ।