स्व. प्रदीप गिरीलाई सम्झिँदै गगन थापा भन्छन, ‘संसदमा उहाँको अभाव झनै खड्कियो’

काठमाडौं । प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने स्व. नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको एक बर्ष पुगेको छ ।
लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत बर्ष आजकै दिन निधन भएको थियो ।
स्वर्गीय गिरी नेपाली राजनीतिक वृत्तमा एक वौद्धिक छवी भएका नेताका रुपमा चिनिन्थे । गिरीलाई अध्ययनका साथै लेखनमा पनि उत्तिकै रुचि थियो ।
उसो त लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्र लगायतका उनका दर्जनौं पुस्तक प्रकाशित छन् ।
सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने वौद्धिक र तार्किक व्यक्तिका रुपमा उनलाई धेरैले चिन्दछन् ।
आज पनि स्व. गिरीलाई थुप्रै व्यक्तीहरुले स्मरण गरिरहेका छन् । उनको निधन भएको बर्ष दिन पुग्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले गिरीको अभाव खड्किरहेको भन्दै स्मरण गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा थापाले स्व. गिरीसंगका भेटमा हुने विचार–विमर्श, किताब छलफल र सुझाव सधैँ स्मृतिमा रहने लेखेका छन् ।
‘प्रदीप दाइ हामीबीचबाट बिदा हुनुभएको एक वर्ष भइसकेछ । यस बिचमा धेरै घटनाक्रमहरू भए, दाइलाई धेरै सम्झिए । प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला? संसदमा उहाँको अभाव झनै खड्कियो,’ थापाले भनेका छन्, उहाँसँगका प्राय भेटमा हुने विचार–विमर्श, किताब छलफल, उहाँले दिने सुझाव सधैँ स्मृतिमा रहनेछन् । मेरा राजनीतिक तथा वैचारिक पथप्रदर्शक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन!’
प्रतिक्रिया