NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नाकाबाट कुखुराजन्य वस्तुको आयात रोक्न गृहको सर्कुलर

प्रयोग गरिने सवारी र कारोबारमा संलग्न व्यक्तिमाथि कारबाही हुने

काठमाडौं । गृह मन्त्रालयले कुखुरा तथा कुखुराजन्य वस्तुको आयात रोक्न दुई प्रहरी संगठन र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेर कुखरा तथा कुखुराजन्य वस्तुको आवश्यक निगरानी तथा अवैध कारोबार नियन्त्रण गर्न निर्देशन दिएको हो ।

निर्देशनमा आयात प्रतिबन्ध लगाइएको कुखुरा तथा कुखुराजन्य वस्तु ओसारपसारमा प्रयोग गरिएको सवारीसाधनदेखि कारोबारमा संलग्न व्यक्तिसम्मलाई कारबाही गर्न भनिएको छ ।

यही भदौ ३ गते उपप्रधान तथा गृहमन्त्रीसँग भएको छलफलमा सरोकारवालाहरूले भारततर्फको नाकाबाट भइरहेको कुखुराजन्य वस्तुको अवैध ओसारपसारबारे जानकारी गराएका थिए । सरोकारवाला निकायसँगको सोही छलफलबमोजिम कुखुराजन्य वस्तुको अवैध आयात निर्यात नियन्त्रणका लागि गृहले सर्कुलर गरेको हो ।

गृहद्वारा जारी पाँचबुँदे सर्कुलरमा खुला सीमा नाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुनसक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न र सीमा नाकामा गस्ती निगरानी बढाउन भनिएको छ । त्यसैगरी, सीमाक्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोर हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न पनि गृहले निर्देशन दिएको छ ।

सरकारले कुखुरा तथा कुखुराजन्य वस्तुमा देशलाई आत्मनिर्भर घोषणा गरेर आयातमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै भित्रिने क्रम रोकिएको छैन । यसले सस्तोमा भित्रिने कुखुराजन्य वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी पोल्ट्री व्यवसाय धराशयी बन्दै गएको उद्योगीहरूले गुनासो गर्दै आइरहेका छन् ।

हेर्नुहोस् गृहको सर्कुलर