NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोशी सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले सदनमा विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तीको पनि मत लिएको भन्दै त्यसविरुद्ध अदालत जान लागेको हो ।

मुख्यमन्त्री थापाले गत सोमबार विश्वासको मत लिएका थिए । त्यस दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका थिए । मन्सुरीले पनि थापालाई विश्वासको मत दिएका थिए ।

त्यसकारण सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको एमालेले जनाएको छ ।

थापा साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्चको आदेशपछि पद मुक्त भएका थिए ।

पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा उनले सभामुखको हस्ताक्षर प्रयोग गरेका थिए । त्यसविरुद्ध एमाले सर्वोच्च गएको थियो ।

आजै कोशी प्रदेशसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसभन्दा पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे बस्नेछ ।