दीपालाई जन्मदिनको शुभकामना दिँदै दीपकले सम्झिए त्यो पहिलो भेट

काठमाडौं । हाँस्यकलाकार दीपकराज गिरी र दीपा श्री निरौलाको पहिलो भेट कस्तो रह्यो होला । तीन दशकदेखि साझेदारीमा रहेका यी दुई पात्रबारे चासो हुनसक्छ ।
यस्तैमा दीपकले आफूहरूको पहिलो भेट र त्यसपछि उनीबारे बनाएको धारणाबारे मुख खोलेका छन् ।
बिहीबार पर्न गएको दीपाको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै दीपकले प्रारम्भिक भेटमा उनीबारे बनाएको धारणाबारे उल्लेख गरेका हुन् ।
दीपकका अनुसार, दीपासँग आजभन्दा तीन दशकअघि उनको पहिलो भेट भएको थियो । भनिन्छ, फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । दीपासँगको दीपकको पहिलो इम्प्रेसन राम्रो थिएन । दीपकका अनुसार, पहिलो भेटमा दीपा उनलाई निकै घमण्डी लागेको थियो । बोल्न त परै जाओस्, हेरेकी समेत थिइनन् ।
यो केटी त कस्ती घमण्डी, मैं हुँ भन्छे । बोल्न त परै जाओस्, हेर्दा पनि हेर्दिन,’ पहिलो भेटमा दीपाबारे बनाएको धारणा उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजभन्दा करिब ३ दशकअघि तिमीसँगको पहिलो भेट मलार्इ आज पनि याद छ ।’ लामो समयदेखि पेसागत र व्यावसायिक साझेदारी गरेका सहकर्मीबारे यस्तो लेखेका दीपकले उक्त पहिलो भेट कहाँ र कहिले भएको थियो भन्नेबारे चाहिँ केही उल्लेख गरेका छन् ।
किताबको कभर हेरेर बनाएका कतिपय धारणा गलत सावित भएजस्तै दीपाको बाहिरी आवरण हेरेर बनाएको धारणा गलत सावित भएको दीपक बताउँछन् ।
दीपकका अनुसार, दीपा निकै सहयोगी र दयालु छिन् । अरूको पीडा पनि आफ्नै सम्झेर साथ दिने उनको स्वभाव छ ।
दीपकलाई दीपा जति सहयोगी र दयालु लाग्छ, उत्तिकै त्यागी पनि लाग्छ । आफू हारेर दीपाले अरूलाई जिताउने गरेको उनले उल्लेख गरेका छन् ।
आफ्नो दुःख–सुखमा साथ दिने दीपालाई दीपकले ‘उत्कृष्ट साथी’को संज्ञा दिएका छन् ।
उनले लेखेका छन्– मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं, करोडौ र अर्बौं शुभकामना ।’
प्रतिक्रिया