विष्णु रिमालको चेतावनी- आयोग बनाउने कुरामा ठट्टा गरे महँगो पर्ला

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले संवेदनशील बिषयमा ठट्टा नगर्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा रिमालले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग बनाउने सहमतिप्रती सत्ता गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीमा आपत्ति जनाएका हुन् ।
‘अन्ततः छानविन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउदै गठबन्धनकै प्रभावशाली भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ, साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ,’ रिमालले भनेका छन् ।
उनले अगाडी लेखेका छन्, ‘अहिले यत्ति चाही भनौँ– मित्रहरु, यस्तो संवेदनशील बिषयमा ठट्टा नगरौं, महँगो पर्छ है ।’
बुधबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका थिए ।
रिमालले आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अबरोध हुनु संयोग मात्र नभएको बताएका छन् ।
‘एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समाउनु, विजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी माल किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजिकरणमा परिवारका मानिस तम्सिनु, सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै समातिएको मध्ये केही सुन गायब पारिनु र यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अबरोध हुनु संयोग मात्र थिएन,’ उनले भनेका छन् ।
प्रतिक्रिया