NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

संसदीय समितिका नवनिर्वाचित सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समितिको सभापतिका लागि आइतबार मनोनयन गर्दा गरिएको थियो । आजका लागि निर्वाचनको तालिका भएपनि सबै सर्वसम्मत निर्वाचित भए ।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, अर्र्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी निर्वाचित भएका थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह निर्वाचित भएका छन् ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्वाचित भए ।

नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेका थिए । तर पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका हुन् ।