NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अदालतले पेसी सारेपछि पाकिस्तान लागे सन्दीप

काठमाडौं । नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दीपलाई बिदाइ गरे ।

एसिया कप यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्ने छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरुद्ध श्रीलङ्कामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।

‘देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दीप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो’, बिदाइका क्रममा सदस्य सचिव घिसिङले भने, ‘सुखद् परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दीपलाई शुभयात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द बेस्ट ।’

त्यस्तै सन्दीपले पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको बताउँदै एसिया कपमा राम्रो खेल प्रदर्शन गर्ने बताए । उनले भने, ‘एसिया कपमा खेल्न पाउनु सबै नेपालीका लागि गर्वको कुरा हो । जित/हारभन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्त्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुसीको पर्वजस्तै हो हाम्रा लागि ।’

काठमाडौं जिल्ला अदालतले आइतबार सन्दीपको पेसी २१ भदौलाई सारेपछि उनको एसिया कप खेल्ने बाटो खुला भएको हो । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष