NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

तनहुँमा क्रिकेट खेल मैदानको खोजी गरिँदै

तनहुँ । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।

व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ । खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘जिल्लामा क्रिकेटका गतिविधि विस्तारै बढ्दै छ, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् । तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।’ राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

नेपाल क्रिकेट सङ्घ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताए ।

खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले बताए। उनले भने, ‘देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ, त्यसकै कारण पनि यहाँ खेलप्रति आकर्षण बढिरहेको छ ।’

तनहुँका क्रिकेट खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको र सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको गुनासो गरे ।

दमौली पेलिकन्स क्लबले बेला–बेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेलमैदानकै अभावमा क्लबले व्यास–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । ‘क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ’, उनले भने ।

तनहुँ क्रिकेट सङ्घका पूर्वअध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटतर्फ आकर्षण बढे पनि पूर्वाधार अभाव रहेको बताए ।