तीन दशकदेखिको सपना पूरा गर्दै नेपाल, डेब्यू खेलमा पाकिस्तानसँग भिड्दै

काठमाडौं । एसिया कपको डेब्यू खेलमा आज नेपाल विश्वकै नम्बर १ क्रिकेट टिम पाकिस्तानसँग भिड्दै छ । उद्घाटन खेलमा पाकिस्तानसँग खेलेर नेपालले झन्डै तीन दशकदेखिको सपना पूरा गर्दै छ ।
पन्जाबको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बाट खेल सुरु हुनेछ । ३५ हजार दर्शकले रंगशालामा उपस्थित भई तथा संसारभरका क्रिकेटप्रेमीले प्रत्यक्ष प्रसारणमार्फत एसिया कपमा नेपालको डेब्यू म्याच हेर्नेछन् ।
कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट रंगशालामा मंगलबार पत्रकार सम्मेलनमा भने, ‘सबै नेपालीले एसिया कपलाई लिएर सपना देखिरहेका थिए । नेपालले साढे दुई दशकभन्दा बढी समयदेखि खेल्दै आएको छ । एसिया कप हामी सबैको सपना थियो, एसिया कप जस्तो माथिल्लो स्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो अवसर हो ।’
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेटका दिग्गज राष्ट्रसँगको प्रतिस्पर्धालाई हार वा जितभन्दा पनि सिक्ने अवसरका रूपमा लिनुपर्ने बताए ।
गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । युएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।
प्रतिक्रिया