NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन’

काठमाडौं । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ ।

आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए ।

‘आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ’, उनले भने, ‘तर हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ । आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ ।’

एभरेष्ट पारान्टेरलल्स् सञ्चालक उमङ्ग रानासरियाले आँखा पाक्ने सङ्क्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताए । ‘सङ्क्रमण बढेसँगै औषधिको माग बढेको छ तर हामीले बढेको मागबमोजिम आपूर्ति गरिरहेका छौ’, उनले भने, ‘आँखा अस्पतालमा हामीले प्रशस्त मात्रामा औषधि उपलब्ध गराएका छौ ।’

सञ्चालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ । अहिले मासिक ९० हजार भाइल औषधि उत्पादन गरिरहेको उनको भनाइ थियो ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’ को अभाव हुन नदिन र मागअनुसार आपूर्ति भइरहेको बताए। आँखा पाक्ने रोगका लक्षणहरू आँखा रातो हुनु र चिलाउनु, आँखाबाट आँसु बगिरहनु वा कचेरारचिप्रा लाग्नु, आँखाको ढकनी रातो हुनु, सुन्निनु, आँखा बिझाउनु/दुख्नु र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता समस्या भाइरल ‘कन्जङ्क्टिभाइटिस’ मा हुने गर्दछ ।

भाइरल ‘कन्जङ्क्टिभाइटिस’ को सङ्क्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन ।