NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चोरी भएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ वटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्षमा ६९ ओटा सवारी साधन यस अघिनै धनिलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताएका छन् ।

यस आर्थिक वर्षमै २ वटा चोरीका मोटरसाइकलसहित ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।