NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बालेनको सचिवालयले भन्यो : सुत्केरीमाथि अनावश्यक केरकार भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सुत्केरीमाथि प्रहरीले अनावश्यक केरकार गरेको र सामान्य मानवीय संवेदनशीलता पनि नदेखाएको जनाएको छ ।

मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै लेखेको धम्कीपूर्ण स्टाटसपछि सम्प्रेषण भएका समाचारको ध्यानाकर्षण गर्दै सचिवालयले स्पष्टिकरण दिएको हो ।

शनिबार राती सरकारी नम्बर प्लेटको गाडी सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सविना काफ्लेको स्वास्थ्यमा जटिलता देखिएपछि विकल्पका रूपमा प्रयोग गरिएको सचिवालयको स्पष्टिकरण छ ।

राती ७ बजे महानगरपालिकाको गाडी प्रयोग गरेर उनी अस्पताल गरेकी थिइन् । त्यहाँ स्वास्थ्य परीक्षणका लागि एनआइसीयुमा भर्ना भएका शिशुलाई स्तनपान गराइ फर्किदाँ चेकजाँचका क्रममा उक्त गाडी रोकियो ।

सोही क्रममा प्रहरीलाई विशेष परिस्थितीमा गाडी चलाउनु परेको र परमिट छुटेको कुरा जानकारी गराउँदा प्रहरीले असान्दसर्भक र मनोमानी प्रश्न गरेको सचिवालयले जनाएको छ ।

‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो,’ सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कर्तव्य पालनाका क्रममा कानुनको उल्लंघन भए चिट काटेर कारवाही गर्ने वैधानिक बाटो छोडेर काफ्लेमाथि अस्वभाविक प्रश्न गरेको विषयमा सचिवालयले खेद प्रकट गरेको छ ।

सवारी चेकजाँचको क्रममा अपराधीलाई झैं केरकार गर्ने, मादक पदार्थ, गुट्खालगायत सूर्तीजन्य पदार्थ सेवन गरेर हप्काइ दप्काइ गर्ने प्रहरीको व्यवहारले समग्र प्रशासनको छविमा आँच आउन सक्ने उल्लेख गरिएको छ ।

प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास दिलाउन र समाचार सम्प्रेषण गर्नुअघि पूर्वानुमान नगर्न आमसञ्चारकर्मीलाई आग्रह गरिएको छ ।